संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन: सभापति गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औं महाधिवेशन तोकिएकै मितिभन्दा एक घण्टा पनि तल-माथि नहुने दाबी गरेका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने भन्दै सम्पूर्ण नेता-कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा होमिन आह्वान गरे।
सभापति थापाले महाधिवेशनमा सहभागी हुन कसैलाई पनि बन्देज नगरिएको र सबै पक्ष सहभागी हुने विश्वास व्यक्त गरे। अलमलमा परेका सबैलाई जोड्ने प्रयास निरन्तर जारी रहने प्रतिबद्धतासमेत उनले जनाए।
पार्टी भित्रका विकृति र विसंगतिविरुद्ध निर्मम बन्न तथा आन्तरिक एकताका लागि भने नरम र लचिलो हुन आफूले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाटै सिकेको स्मरण गर्दै थापाले पार्टीलाई विधि र थितिमा हिँडाउन कुनै सम्झौता नगर्ने अडान दोहोर्याए। आगामी महाधिवेशन सम्पन्न भएलगत्तै कांग्रेस जनतासँग प्रत्यक्ष जोडिने बृहत् अभियान लिएर देशका गाउँगाउँ पुग्ने उद्घोष उनले गरे।
सभापति थापाले नेपालको आधुनिक अर्थतन्त्र र निजी क्षेत्रको विकासमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका ऐतिहासिक र निर्णायक रहेको बताए।
नेपालमा निजी क्षेत्रबाट उद्योगधन्दा र ठूला व्यवसाय सञ्चालन गर्न पाउने खुला आर्थिक नीतिको जग कोइरालाले नै बसालेको भन्दै थापाले सोही निर्णयका कारण आज देशमा लाखौं उद्योगी-व्यवसायी जन्मिने बाटो खुलेको धारणा राखे।
सबै उद्योग र व्यापार सरकारले मात्रै चलाउनुपर्छ भन्ने पुरातन मान्यताले राज्यलाई आर्थिक घाटामा मात्र अल्मल्याउने र निजी क्षेत्रको विशाल व्यावसायिक सम्भावनालाई कुण्ठित बनाउने उनको भनाइ थियो।
सभापति थापाले कोइरालाकै नीतिका कारण नेपाली अर्थतन्त्रले फराकिलो रूप लिन सकेको स्पष्ट पारे। खुला बजार अर्थतन्त्र, लोकतन्त्रको सुदृढीकरण र समावेशी समृद्धिका लागि कोइरालाले देखाएको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताए।
सोही कार्यक्रममा फाउन्डेसनको नेतृत्व नेतृ सुजाता कोइरालाले नेता डा. सुनिल शर्मालाई हस्तान्तरण गरेकी थिइन्।
ताजा अपडेट
-
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल
-
आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्न संसद्मा माग
-
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन: सभापति गगन थापा
-
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका स्वीकृत
-
भोटेकोशी बाढीपिडितलाई यशोदा फुड्स र श्रीराम टोबाकोको सहयोग


प्रतिक्रिया