NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ३ गते

होर्मुज नाकाबन्दीपछि ओमानबाट तेल निर्यातको नयाँ बाटो, जहाजबाट जहाजमै तेल स्थानान्तरण

काठमाडौं । ओमानको सोहर बन्दरगाह होर्मुज जलडमरूमध्यमा जारी अवरोधका बीच खाडी मुलुकको तेल निर्यातका लागि महत्वपूर्ण वैकल्पिक केन्द्र बन्न थालेको छ।

साउदी अरेबियाले आफ्नो पूर्व–पश्चिम तेल पाइपलाइनमा अवरोध आएपछि ओमानको सोहरनजिकै समुद्रमा एउटा ट्यांकरबाट अर्को ट्यांकरमा कच्चा तेल स्थानान्तरण गरेर निर्यात गर्न थालेको हो।

व्यावसायिक जहाजहरूले सुरक्षा जोखिमका कारण होर्मुज जलडमरूमध्य पार गर्न आनाकानी गरेपछि साउदीले समुद्रमा तेल स्थानान्तरणको विकल्प अपनाएको हो। सोहरसँगै संयुक्त अरब इमिरेट्सको फुजैराह पनि होर्मुज बाहिर तेल भण्डारण र जहाजबाट जहाजमा तेल स्थानान्तरणको प्रमुख केन्द्रका रूपमा प्रयोग भइरहेको छ।

शिप–टु–शिप स्थानान्तरणमा समुद्रमै एउटा जहाजबाट अर्को जहाजमा कच्चा तेल वा एलएनजी सारिन्छ। यस क्रममा दुई जहाजलाई समानान्तरमा राखेर रबर फेन्डर तथा पाइपको सहायताले तेल स्थानान्तरण गरिन्छ।

जोखिम कम गर्न आवश्यक सुरक्षा जाँच गरिए पनि यस्ता गतिविधिमा दुर्घटना, तेल चुहावट र जहाज ठोक्किनेजस्ता जोखिम रहने विशेषज्ञहरूले बताएका छन्। कतिपय जहाजले आफ्नो एआईएस ट्र्याकिङ प्रणाली बन्द गर्ने भएकाले निगरानीमा समेत चुनौती हुने गरेको बताइएको छ।

तेल बजार अनुसन्धान संस्था रिस्टाड इनर्जीका अनुसार होर्मुजमार्फत हुने तेल निर्यात सेप्टेम्बरको पहिलो दुई सातामा दैनिक २० लाख ब्यारेलभन्दा बढी पुगेको छ। साउदी अरेबियाले सोहरबाट एसियाली बजारका लागि थप तेल पठाउने तयारी गरिरहेको बताइएको छ।

कुवेत र कतारले पनि आवश्यकताअनुसार होर्मुजको जोखिम छल्न यस्तै शिप–टु–शिप स्थानान्तरणको प्रयोग गरिरहेको विभिन्न रिपोर्टमा उल्लेख छ।

यस्ता गतिविधिमा बीमा पनि चुनौतीपूर्ण बनेको छ। युद्ध जोखिम, जहाज तथा कार्गोमा क्षति, तेल चुहावट र ठक्करबाट हुने दायित्वका कारण व्यावसायिक बीमा कम्पनीहरूले व्यापक जोखिम बहन गर्न आनाकानी गर्ने गरेका छन्। त्यसैले धेरैजसो जोखिम उत्पादक मुलुकका राष्ट्रिय तेल कम्पनीमै रहने गरेको बताइएको छ।

होर्मुज जलडमरूमध्यमा अवरोध कायम रहे तेल निर्यातका लागि सोहर र फुजैराहजस्ता वैकल्पिक समुद्री केन्द्रको भूमिका अझ बढ्ने देखिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष