भदौ महिनामा बिजुली बेचेर ५ अर्बभन्दा बढी आम्दानी, बाढीको चुनौतीकाबीच पनि निर्यातमा सुधार
काठमाडाैं। नेपाल नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै बिजुली निर्यात गरेर ५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
प्राधिकरणका अनुसार भदौ महिनामा कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात गरी ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २८२ रुपैयाँ आम्दानी भएको छ।
प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र – एलडिसी, स्युचाटार) ले सार्वजनिक गरेको विवरण अनुसार दुई माध्यमबाट विद्युत् निर्यात गरिएको छ-पहिलो, द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा र बिहार राज्यसँगै बङ्गलादेशमा र दोस्रो, विद्युत् बजारमार्फत।
द्विपक्षीय सम्झौताअनुसार ४२ करोड १६ लाख २१ हजार २८८ युनिट निर्यात गरेर ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २९९ रुपैयाँ आम्दानी भएको छ। त्यस्तै, विद्युत् बजारतर्फ १४ करोड ३९ लाख ८५ हजार १५५ युनिट निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९८३ रुपैयाँ आर्जन भएको छ।
भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ। अन्य जलविद्युत् केन्द्रबाट बङ्गलादेशतर्फ पुनः निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिसकिएको छ।
विद्युत् व्यापारमा उल्लेख्य सुधार
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अघिल्लो वर्षको तुलनामा यस वर्षको भदौमा विद्युत् व्यापारमा राम्रो सुधार भएको र यो महत्त्वपूर्ण उपलब्धि रहेको बताए।
मन्त्री श्रेष्ठले भने, “भोटेकोशी बाढीका कारण राष्ट्रिय उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको चुनौतीपूर्ण अवस्थामा पनि ५६ करोड ५६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ।
गत आर्थिक वर्षको भदौमा विद्युत् निर्यात आम्दानी ४ अर्ब ७० करोड ८२ लाख ८८ हजार ५६५ रुपैयाँ रहेकोमा यस वर्ष ३८ करोड २७ लाख ३५ हजार ४३५ रुपैयाँले वृद्धि भएको छ।”
उनले यो उपलब्धि एलडिसी स्युचाटारको निरन्तर समन्वय, प्राधिकरणको उच्च व्यवस्थापन तथा देशभर परिचालित इन्जिनियर, प्राविधिक र कर्मचारीहरूको अथक प्रयासको परिणाम भएको उल्लेख गरे।
ताजा अपडेट
-
सामसङ नेपालको दशैं तिहार अफर : टिभी तथा होम अप्लायन्स किन्दा क्यासब्याक र उपहार
-
आइतबार सुन तोलामा २ हजार १ सय बढ्यो
-
दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
-
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
-
बाढीपहिरोमा मृत्यु हुनेको संख्या १ हजार ४११ पुग्यो, ५ हजार ८७५ अझै बेपत्ता


प्रतिक्रिया