NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १२ गते

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने भएको छ । चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै आयोजना बन्द गरिएको थियो ।

विद्युत् उत्पादन सुरु गर्न लागिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले जानकारी दिए । ‘कालीगण्डकी नदीमा पानीको उच्च बहाव भएकाले जोखिम हुन नदिनका लागि उत्पादन नै बन्द गरेका हौँ,’ उनले भने, ‘अहिले नदीमा पानीको सतह घट्दै गएकाले अब सुरुङभित्र रहेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर सुचारु गर्ने तयारी गरेका छौँ ।’

प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरेकाले आज बिहान १० बजेदेखि उत्पादन सुरु गर्न सकिने भएको उनले बताए । कालीगण्डकी नदीमा बाढी आएपछि मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा फालिएको थियो । आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

चार दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजार डुबानमा परेको छ । सेतीवेणी बजारका २६ घरका मानिसलाई नजिकैको विद्यालयमा राखिएको छ । यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल रहेको स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएर लगेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष