NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १२ गते

अविरल वर्षाका कारण देशका अधिकांश राजमार्ग अवरुद्ध

काठमाडौं: गएको चार दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्। बाढी, पहिरो र सडक भासिने समस्याले यातायात सेवा प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।

रसुवाको पासाङ ल्हामु राजमार्ग त्रिशूली नदीको कटानका कारण पूर्ण रूपमा बन्द छ। प्रहरीका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै स्याफ्रुबेँसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ। साथै, टोखा-छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

पृथ्वीराजमार्गको कृष्णभीरमा पहिरो खस्दा सडक एकतर्फी मात्र सञ्चालनमा छ भने बेनिघाट रोराङ-१० मा सडक पूर्ण रूपमा बन्द छ। चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पनि पहिरोका कारण अर्को सूचना नभएसम्मका लागि यातायात बन्द गरिएको छ। यसैगरी, बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न स्थान र अरनिको राजमार्गको धुलिखेल खण्ड पनि पहिरोले अवरुद्ध भएको छ।

गण्डकी प्रदेशका विभिन्न सडकहरू पनि प्रभावित छन्। मनाङको बेँसीसहर-खाङसार सडकमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन रोकिएको छ भने चामे-बेँसीसहर सडक पूर्ण रूपमा बन्द छ। बागलुङको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, रोल्पाको घोराही-थवाङ-रुकुम सहिदमार्ग र कालिकोटको कर्णाली राजमार्ग पनि पहिरो र लेदोका कारण अवरुद्ध छन्।

यसका साथै गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतका विभिन्न सडक खण्डमा पनि यातायात सञ्चालन हुन सकेको छैन। प्रहरीले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासनको सूचनालाई पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष