मर्स्याङ्दी नदीमा पानीको बहाव सामान्य बन्दै
मनाङ- अविरल वर्षाका कारण घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा र बालुवाले थुनिएको मर्स्याङ्दी नदीमा पानीको बहाव सामान्य हुन थालेको छ। नदी थुनिएर बनेको तालबाट पानी आंशिक रुपमा बग्न थालेको प्रहरीले जनाएको छ।
नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले चार दिनदेखिको निरन्तर वर्षाले जिल्लामा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध भएको जानकारी दिए। उनले भने, “विपदको समयमा हामी टेलिफोन, विद्युत् र सडक सञ्जालबाट नै विच्छेद भएका छौँ। स्थानीय सरकारले उपलब्ध सीमित स्रोत साधन परिचालन गरी अधिकतम काम गरिरहेको छ। यति बेला प्रदेश र सङ्घ सरकारले हामीलाई अभिभावक भएको महसुस गराउन सक्नुपर्छ।”
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार मर्स्याङ्दी नदीको बहाव क्रमशः खुल्दै गएको छ। सडक सम्पर्क विच्छेद भएकाले स्काभेटर प्रयोग गरी बहाव पूर्ण रुपमा सुचारु गर्ने विषयमा छलफल भइरहेको उनले बताए। बाढीले लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा क्षति पुर्याएको छ।
बाढीको क्रम घटेसँगै नेपाली सेनाको ब्यारेक र सामुदायिक भवनमा आश्रय लिएका स्थानीयबासी आफ्नो घर तथा गाउँको क्षति बुझ्न थालेका छन्। प्रशासनले मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई अझै सचेत रहन आग्रह गरेको छ। निरन्तरको वर्षाले ठाडो खोला र घट्टेखोलाको बाढीले घर, पुल र सडकमा क्षति पुर्याएको छ। यसअघि विसं २०७८ जेठ १४ र असार १ गते पनि यस क्षेत्रमा बाढीले ठूलो भौतिक क्षति पुर्याएको थियो।


प्रतिक्रिया