NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १६ गते

कांग्रेस विरोधी गतिविधिमा संलग्नलाई अनुशासन समितिले कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि पार्टीको हितविपरीतका गतिविधिमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ ।

समितिका कार्यवाहक संयोजक रमेश धमलाले पार्टीको अनुशासनविपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्म सबैलाई पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन समितिले निर्देशन दिएको छ ।

१५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि पनि पार्टीकै नाममा पार्टीविरोधी गतिविधिमा केही व्यक्ति संलग्न रहेको सूचना प्राप्त भएको समितिले जनाएको छ । यस्ता गतिविधिलाई गम्भीरताका साथ निगरानी गरिरहेको कार्यवाहक संयोजक धमलाले बताएका छन् ।

पार्टीको मर्यादा, नीति तथा अनुशासनविपरीतका गतिविधि नगर्न आह्वान गर्दै धमलाले त्यस्ता गतिविधि नरोकिए आवश्यक कडा कारबाहीको प्रक्रिया अघि बढाइने स्पष्ट पारेका छन् ।

यसैबीच, वडा, पालिका तथा क्षेत्रीय तहका निर्वाचन प्रक्रियामा उत्साहजनक सहभागिता जनाएकोमा समितिले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष