प्रहरीलाई विपद् सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई सम्भावित विपद् सामना गर्न थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित ७१औँ प्रहरी दिवस समारोहमा उनले यस्तो धारणा राखेका हुन्। प्रधानमन्त्रीको सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पढेर सुनाएका थिए।
प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धिका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे। उनले प्रहरी कर्मचारी, तिनका परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए।
पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध नियन्त्रणमा सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भने, ‘यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवाप्रदायक तथा डिजिटल वालेटहरूलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढंगले सम्बोधन गर्ने व्यवस्था गरिँदै छ।’ साथै, उनले एआई, एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट र इन्टिग्रेटेड एन्टी-स्क्याम सेन्टर स्थापनाको तयारी भइरहेको जानकारी दिए।
आफ्नो सन्देशमा प्रधानमन्त्री शाहले भोटेकोशी-त्रिशूलीको विपद् लगायत कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरीहरू प्रति श्रद्धाञ्जली अर्पण गरे। उनले ‘राष्ट्रसेवकको असली परीक्षा संकटका बेला हुन्छ’ भन्दै संकटको घडीमा धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनले नै ठूला विपद् टार्न सकिने बताए।
ताजा अपडेट
-
सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य
-
प्रहरीलाई विपद् सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
-
सुन र चाँदीको मूल्यमा उच्च वृद्धि
-
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहको आह्वान– ‘शोकलाई शक्तिमा बदलेर अघि बढौँ’
-
खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा


प्रतिक्रिया