‘अर्नव’ चक्रवातले कुन प्रदेशमा कस्तो असर पर्छ ?
काठमाडौँ । नेपालमा बिहीबारदेखि मौसम बदली भई देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि शनिबारसम्म मेघगर्जन र चट्याङसहित मध्यमदेखि धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहे पनि तराई, उपत्यका र खोंचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लागेको छ।
मंगलबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने तथा देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने देशभर आंशिक बदली हुने पूर्वानुमान छ।
बुधबार देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार राति हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान छ।
बिहीबारदेखि भने मौसम थप प्रभावित हुने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा बदली रहनेछ। यी प्रदेशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
शुक्रबार र शनिबार देशभर अधिकांश बदली रहने अनुमान गरिएको छ। यी दुई दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
शनिबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाले बिहीबारदेखि शनिबारसम्मको सम्भावित वर्षा तथा हिमपातलाई ध्यानमा राख्दै धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न आग्रह गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भएकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा उक्त अवधिमा त्यहाँ रहेका पर्यटकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
वर्षाका कारण चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।


प्रतिक्रिया