एनपीलमा आज काठमाडौं र कर्णाली तथा चितवन र सुदूरपश्चिम भिड्दै
काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल बेलुकी ५ बजे शुरु हुनेछ ।
पहिलो खेलमा कर्णाली लगातार तेस्रो जितको खोजी हुनेछ भने काठमाडौं पहिलो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । लगातार दुई जित निकाल्दै उच्च लयमा रहेको कर्णाली आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो । काठमाडौंले भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको थियो ।
हाल कर्णाली २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने एक खेल खेलेको काठमाडौं अंक विहीन रहँदै पुछारमा रहेको छ । आज कर्णालीलाई पछिल्लो दुई सिजनको बदला लिने अवसर रहेको छ । अघिल्लो दुई सिजनमा काठमाडौंले कर्णालीलाई हराएको थियो ।
आजै हुने दोस्रो खेलमा चितवन र सुदूरपश्चिम भिड्नेछन् । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । हाल चितवन २ खेलबाट ३ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ भने एक खेल बढि खेलेको सुदूरपश्चिम २ अंकको साथ छैटौँ स्थानमा रहेको छ ।
पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले हराउँदै प्रतियोगिताको शुरुवात गरेको चितवनले दोस्रो खेल वर्षाको कारण रद्द हुँदा लुम्बिनी लायन्ससँग अंक बाढेको थियो । यता लुम्बिनी भने पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पुनरागमन गरेको सुदूरपश्चिम तेस्रो खेलमा विराटनगर किंग्ससँग ३५ रनले पराजित भएको थियो ।


प्रतिक्रिया