भिमादमा सयपत्री फूल खेतीप्रति बढ्दो आकर्षण
तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूल खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ ।
भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूल खेतीमा जुटेका छन् । स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले उनीहरूका बारीमात्रै सजाएका छैनन्, स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूरा गर्न सकिने सम्भावना देखाएका छन् ।
भिमाद नगरपालिका–६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री फूल खेती गरेका छन् । उनीहरूले दुई–दुई रोपनी क्षेत्रफलमा फूल खेती गरेका हुन्।
स्थानीय किसानलाई फूल खेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले किसानलाई फूल खेती विस्तार गर्न प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताइन् ।
स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग बढाउन सके बाहिरबाट आयात हुने फूलमा निर्भरता घट्नुका साथै स्थानीय किसानको आम्दानी बढाउन सकिने अपेक्षा गरिएको उनको भनाइ छ ।
फूल खेतीमा आकर्षण बढे पनि उत्पादित फूलको व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको किसान बालकृष्ण गैह्रेले बताए ।
चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री हुन नसके खेर जाने जोखिम हुने र फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उचित व्यवस्था नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता थपिएको उनको भनाइ छ ।
सयपत्री फूल लामो समयसम्म ताजा राख्न आवश्यक चिस्यानयुक्त भण्डारण सुविधा नहुँदा बजारमा माग र आपूर्तिबीचको तालमेल मिलाउन कठिन हुन भएको किसान बद्रीनाथ गैह्रेले बताए ।
उनले भने, ‘यहाँ उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनसके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्षमा थप क्षेत्रफलमा फूल खेती गर्न प्रेरणा मिल्नेछ ।’


प्रतिक्रिया