बैंकमा थुप्रियो आठ खर्ब रुपैयाँ, कर्जाको माग सुस्त
काठमाडौं: बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) करिब आठ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक १८ सम्म बैंक तथा वित्तीय संस्थामा ८५ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ, तर सोही अनुपातमा कर्जा प्रवाह हुन सकेको छैन। हालसम्म ६१ खर्ब ११ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ, जसले गर्दा सात खर्ब ८३ अर्ब रुपैयाँ अधिक तरलताको रूपमा थुप्रिएको छ।
रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा सुधार आएका कारण निक्षेप बढे पनि निजी क्षेत्रबाट कर्जाको माग भने कमजोर छ। नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अनिल शर्माका अनुसार ब्याजदर न्यून हुँदा पनि कर्जा विस्तार हुन नसक्नु चिन्ताको विषय बनेको छ। आर्थिक गतिविधि चलायमान हुन नसक्दा र लगानीको वातावरणमा अन्योल रहँदा बैंकहरूमा पैसा थुप्रिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ कोभिड महामारीयता व्यवसायीहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको बताउँछन्। बजारमा माग नबढ्दा उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन्, जसले नयाँ परियोजनामा लगानी गर्न व्यवसायीलाई निरुत्साहित गरेको छ। सरकारले ५९ वटा ऐन संशोधन गरेर निजी क्षेत्रको विश्वास आर्जन गर्ने प्रयास गरे पनि अपेक्षित नतिजा आउन सकेको छैन।
बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने क्रम जारी राखेका छन्। मंसिर महिनाका लागि सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ३.९२ प्रतिशतमा सीमित भएको छ। माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, एनएमबि बैंक, लक्ष्मी सनराइज, कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदरमा कटौती गरेका छन्।
सरकारी पुँजीगत खर्च कमजोर हुँदा बजारमा तरलता प्रवाह र आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ। सरकारको राजस्व संकलन र खर्चबीचको खाडलले गर्दा निर्माण व्यवसाय र आपूर्ति शृंखलामा अपेक्षित सुधार हुन सकेको छैन। कात्तिक १८ सम्म बैंक तथा वित्तीय संस्थाको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ७०.९६ प्रतिशतमा कायम छ।

प्रतिक्रिया