आयकरको दर घटाएर दायरा फराकिलो बनाइएको छ: अर्थमन्त्री
काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गर्दै यस वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्ने दाबी गरेका छन्। राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले राजस्व संकलनको गति बढाउन आफू स्वयं मैदानमा उत्रने बताएका छन्।
अर्थमन्त्री वाग्लेले ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा गत वर्ष १ हजार २५० अर्ब रुपैयाँ मात्र राजस्व उठेको स्मरण गर्दै यस वर्ष २७ प्रतिशत राजस्व वृद्धि गर्ने लक्ष्य राखिएको जानकारी दिए। कोभिड महामारीपछि राजस्व वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेकाले प्रणालीगत सुधारमार्फत लक्ष्य भेटिने उनको भनाइ छ। उनले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम हुनुपर्नेमा जोड दिए।
सरकारले कर प्रणालीमा गरेको सुधारबारे बोल्दै उनले आयकरको उच्चतम स्ल्याब ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिएको बताए। साथै, करछुटको सीमा ५ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ। ‘बोल्ड रिफर्म र सुशासनको प्रतिफलका कारण प्रतिकूल परिस्थितिका बीच पनि हामी अगाडि बढिरहेका छौँ,’ उनले भने।
पूर्वाधार सम्मेलनका लागि ५० देखि ६० वटा ऐनका करिब ५०० वटा दफा संशोधन गर्ने गरी सरकारले ‘ओम्निबस रिफर्म’ अघि बढाएको छ। सेयर बजारलाई २१ बुँदे सुधार कार्यक्रममार्फत नियामकीय दायरामा ल्याइएको र भोटेकोसी प्याकेजको पहिलो चरण कार्यान्वयनमा आइसकेको उनले जानकारी दिए। आगामी एक-दुई हप्ताभित्रै ३० देखि ३५ वटा नीतिगत सुधारसहितको नयाँ आर्थिक प्याकेज ल्याउने तयारी भइरहेको उनले बताए। जेठ १५ गते आउने बजेटमा सुधारका शृङ्खलालाई अझ फराकिलो बनाइने उनले स्पष्ट पारे।

प्रतिक्रिया