NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ७ गते

अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन बढ्यो

काठमाडौं: अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्ममा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो।

संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ जना पर्यटक भित्रिएका छन्। कुल पर्यटक मध्ये ५२ हजार ८८६ जना दक्षिण एसियाली मुलुकका रहेका छन् भने बाँकी अन्य देशका पर्यटक हुन्। डा. कडरियाले असोज र कात्तिक मुख्य पर्यटकीय याम भएकाले यो समयमा पर्यटकको आगमन उच्च हुने गरेको बताए।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सडक मार्गबाट ठुलो संख्यामा आन्तरिक पर्यटक पनि यस क्षेत्रमा आउने गरेका छन्। सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको यो संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता र हिमाली जनजीवनका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ।

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानी जस्ता गन्तव्यहरू यस क्षेत्रका प्रमुख आकर्षण हुन्। कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको यो क्षेत्र पदयात्राका लागि विश्वभर प्रसिद्ध छ। पर्यटकहरूले आफ्नो समय र रुचि अनुसार छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सक्ने आयोजनाले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष