पश्चिम एसियामा तनाव बढ्दा कच्चा तेलको मूल्यमा वृद्धि
काठमाडौं- पश्चिम एसियामा बढेको सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ। इरानसँग सम्बन्धित आक्रमण, साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका हमला र स्ट्रेट अफ होर्मुजमा तेल ट्याङ्करमाथि भइरहेका आक्रमणले विश्व बजारमा आपूर्ति प्रभावित हुने चिन्ता बढाएको छ।
अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुडको जनवरीमा आपूर्ति हुने अग्रिम कारोबार शुक्रबार प्रतिब्यारेल करिब ९६ अमेरिकी डलर पुगेको छ। यो साता ब्रेन्टको मूल्य करिब ३.५ प्रतिशतले बढेको छ। त्यस्तै अमेरिकी बजारमा वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य १ प्रतिशतले बढेर प्रतिब्यारेल करिब ८४.५० डलर पुगेको छ। केही सातादेखि घटिरहेको तेलको मूल्य पछिल्ला आक्रमणहरूका कारण पुनः बढ्न थालेको हो।
यमनका हुथी विद्रोहीले साउदी अरबका दुई तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका छन्। बुधबार रास तनुरा र बिहीबार जजान क्षेत्रमा भएको आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार आक्रमणपछि प्रशोधन केन्द्रको सञ्चालन केही समयका लागि रोकिएको छ। यसका अतिरिक्त कुवेतमा भएको ड्रोन आक्रमणमा दुई इटालियन प्राविधिकको मृत्यु भएको छ भने एक कुवेती र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। इरानले भने आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
स्ट्रेट अफ होर्मुजबाट हुने तेल आपूर्ति पनि प्रभावित भएको छ। नोभेम्बर २५ सम्मको तथ्यांकअनुसार उक्त मार्गबाट हुने तेल प्रवाह युद्धअघिको तुलनामा ५५ प्रतिशतमा झरेको छ। बेलायती समुद्री व्यापार सञ्चालन केन्द्रका अनुसार नोभेम्बरमा मात्रै सो क्षेत्रमा करिब दुई दर्जन आक्रमण भएका छन्।
अनलाइन ब्रोकर एक्सटीबीकी अनुसन्धान निर्देशक क्याथलिन ब्रुक्सले अमेरिका र इरानबीच स्थायी शान्ति सम्झौता हुन नसक्दा क्षेत्रीय अस्थिरता कायमै रहेको बताएकी छन्। यसैबीच तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेक प्लसको बैठक आइतबार बस्दैछ। विश्लेषकहरूका अनुसार समूहले जनवरीसम्म उत्पादन कोटा यथावत् राख्ने सम्भावना छ।

प्रतिक्रिया