अधिकांश कर्मचारी संक्रमित हुँदा कसरी भइरहेको छ स्वास्थ्य मन्त्रालयको काम ?

काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अधिकांश कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार त मन्त्रालयका सचिव डा. रोशन पोखरेल पनि संक्रमित बनेका छन् ।
सचिव पोखरेलका साथै अन्य संक्रमित कर्मचारी पनि आइसोलेशनमा बसिरहेका छन् । मन्त्रालयमा जम्मा १३७ जना कर्मचारी छन् । त्यीमध्ये अधिकांश कर्मचारी कोरोनाबाट संक्रमित भएको मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणको दैनिक ग्राफ उकालो लाग्दै गर्दा समन्वय गर्ने मुख्य मन्त्रालयकै यति धेरै कर्मचारी संक्रमित हुँदा समन्वयमा भने केही असहजता भने आएको मन्त्रालयले जनाएको छ ।
तर, समाचारमा आएजस्तो पूरै सेवा भने ठप्प नभएको मन्त्रालयका कर्मचारी बताउँछन् । मन्त्रालयका कर्मचारीका अनुसार कोरोना संक्रमित नभएका कर्मचारीहरूले सिफ्टमा विभाजन गरेर काम कारबाही गरिरहेका छन् ।
यता स्वास्थ्य सचिव पोखरेल भने घरमै आइसोलेशनमा बसिरहेका छन् । रुघाखोकी लागे पनि अवस्था जटिल नभएको उनको भनाइ छ ।
नेपालवाचसँग कुरा गर्दै उनले भने, ‘ज्वरो आउने, जिउ दुख्ने भएपछि हिजो जाँच गराउँदा रिपोर्ट पोजेटिभ आयो । अहिले घरमै आइसोलेशनमा आराम गरिरहेको छु । खोकी लागिरहेको छ । तर, अवस्था जटिल छैन ।’
कर्मचारीमा कोरोना संक्रमण भए पनि मन्त्रालयको काम भने नरोकिएको उनको भनाइ छ । भर्चुअल माध्यमबाटै भए पनि मन्त्रालयको काम कारबाही अघि बढिरहेको सचिव पोखरेलको भनाइ छ ।
यस्तै, स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्र पनि कोरोना संक्रमित छिन् । उनी एक सातादेखि होम आइसोलेशनमा छिन् । तर, अवस्था भने सामान्य रहेको डा. मिश्रले बताइन् ।
उनले पनि सबै कर्मचारीमा कोरोना संक्रमण भएको भन्ने समाचार गलत भएको बताइन् । ‘केही कर्मचारीहरू संक्रमित हुनुहुन्छ । तर, केही रिकभर भएर काममा फर्किसक्नुभएको छ’, उनले भनिन्, ‘केहीले घरबाट काम गरिरहेका छौं । केहीको सिफ्ट मिलाएर भए पनि मन्त्रालयबाटै काम भइरहेको छ ।’
यता सोही महाशाखाका सचिव सुरेश दाहालका अनुसार पनि उक्त महाशाखामा मिश्र बाहेक अरु कर्मचारी कोरोनाबाट संक्रमित छैनन् । अन्य कर्मचारीहरू मन्त्रालयमै उपस्थित भएर काम गरिरहेका छन् ।
‘सबै कर्मचारीलाई संक्रमण भएको छैन । हाम्रो महाशाखा प्रमुख बाहेक अरुमा छैन । अरु सबै कर्मचारी मन्त्रालयमै बसेर काम गरिरहेका छौं ।’
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १४:०३:०
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया