प्रभावकारी बन्दै बमन थेरापी

तनहुँ । तनहुँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा ‘बमन थेरापी’ पद्धतिबाट प्रदान गरिने उपचार सेवा प्रभावकारी बन्दै गएको छ । फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई सो पद्धतिबाट उपचार गरिन्छ ।
शरीरभित्र कफदोषको मात्रा वृद्धि हुँदै जाँदा फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने र यस्ता बिरामीलाई सो पद्धतिबाट उपचार गरिने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा. रामप्रबोध मण्डलले थेरापीबाट शरीरभित्र जमेका कफदोषलाई निकालेर बिरामीलाई सञ्चो बनाइने जानकारी दिए ।
सुरुमा जेठीमधु, मह, नुन मिसाएर बनाएको मनतातो पानी बिरामीलाई खाली पेटमा रुचुन्जेल पिउन लगाइन्छ । उनले भने, ‘बिरामीले उक्त पानी पिएको केही समयमै बमन गर्न थाल्छन् र शरीरभित्रका सबै विकार वस्तु बाहिर निकाली सञ्चो बनाइदिन्छ ।’
यसरी बमन हुँदा शरीरभित्र रहेका कफदोष निकाली श्वासप्रश्वासमा सहज र शरीर पनि हल्का हुने जनाइएको छ । उक्त विधि हप्तामा एकपटक गराइने छ । उनले भने, ‘श्वासप्रश्वास समस्याका बिरामीका लागि बमन विधि अचूक उपचार बन्ने गरेको छ ।’
यसैगरी नश्याकर्म विधिबाट नाकभित्र रहेका फोहरमैला बाहिर निकाल्ने कार्यको थालनी गरिएको छ । नाकमा षड्विन्दु तेल प्रयोग गरी मसाज गरेर नाकभित्र जमेर रहेका विकार सजिलै बाहिर निकालिने उनले बताए ।
पछिल्लो समयमा केन्द्रमा विभिन्न किसिमका जटिल प्रकृतिका बिरामीले सहजरूपमा र प्रभावकारी सेवा पाउन थालेपछि आयुर्वेदिक उपचारतर्फ मानिसको आर्कषण बढ्दै गएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको आडमै दमौली अस्पताल रहे पनि स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, बाथ, हाडजोर्नी, दम, ग्यास्ट्रिक, प्रसूतिलगायतका सेवा लिन सर्वसाधारणको भीड नै लाग्ने गरेको सो स्वास्थ्य केन्द्रले जनाएको छ ।
२०७८ साल पुस मसान्तसम्म विभिन्न रोगका बिरामीले उपचार पाएका छन् । गत साउनदेखि हालसम्म गरी कूल चार हजार २६८ ले स्वास्थ्य सेवा लिएका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया