NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

एमसिसीलाई टेबल गर्ने सहमतिलगत्तै प्रक्रियाबारे प्रधानमन्त्री र प्रचण्डबीच विवाद

काठमाडौं । लामो समयदेखि सत्ता गठबन्धनमा छलफल चलेर टेबल हुने सहमति भएको एमसिसी सम्झौताका विषयमा प्रक्रियालाई लिएर सुरुबाटै विवाद देखिएको छ ।

सत्ता गठबन्धनको बैठकमा एमसिसीलाई टेबल गरेर छलफलको निम्ति अघि बढाउने सहमति भएको थियो । तर लामो सयम संसद नचलेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डको प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसिसी टेबल गर्ने सैद्धान्तिक हिसाबले स्वभाविक प्रक्रिया भए पनि लामो समयदेखि संसद अवरुद्ध भएको भन्दै अध्यक्ष प्रचण्डले प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेको जनाएका छन् । तर प्रधानमन्त्री देउवाले टेबल गरेर प्रक्रियामा लैजाने अडान लिएका हुन् ।

कुरा नमिलेपछि आ–आफ्नो विचार सदनमा नै प्रस्तुत गरेर अघि बढ्ने समझदारी भएको हो ।

‘अध्यक्ष कमरेड प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसिसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो’ मल्लले प्रचण्डको भनाई भन्दै सामाजिक संजलमा लेखेका छन्, ‘अध्यक्ष कमरेडले प्रधानमन्त्रीलाई टेबुल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्री ज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ। उपरोक्त स्थितिमा आ(आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भयो।’

अमेरिकी सहयोग एमसिसी आज १ बजे बस्ने संसदमा टेबल हुँदैछ । त्यसपछि यसमा छलफल हुनेछ ।