NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

कर्मचारीका मुद्दा हस्तान्तरण गर्न माग

कर्मचारीकै मुद्दा हेर्न गठन भएको प्रशासनिक अदालतमा मुद्दा नभएर सुनसान भएको छ ।

सरकारले कर्मचारीको मुद्दा छिटोछरितो फैसलामा लैजाने उद्देश्यले प्रशासनिक अदालत गठन गरे पनि उच्च र सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने प्रवृित्त रहेको जनाइएको छ । प्रशासनिक अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलले सर्वोच्चले कर्मचारीका मुद्दा हस्तान्तरण गरिदिए छिटो फैसलामा पुग्न सकिने बताए ।

“सर्वोच्चमा ३५ हजार मुद्दा छन्, वर्षमा पाँच हजार पनि फैसला भएका छैनन्”, उनले भने, “थपिँदै हरेक वर्ष उत्तिकै भइरहँदा कर्मचारीका मुद्दा ढिला सुनुवाइ भएका छन् ।” सुनुवाइ नहुँदा फैसला पनि स्वाभाविक रुपमा ढिला हुने उनले बताए । उनले कर्मचारीको मुद्दा समयमा फैसला भएमा निजामती सेवा चुस्त हुने बताए ।

प्रशासकीय अदालत काठमाडाँैको आयोजनामा बिहीबार सम्पन्न भएको ‘प्रशासनिक न्याय र प्रशासकीय अदालतको अधिकार क्षेत्र’ विषयक अन्तरक्रियामा उच्च अदालत बागलुङका मुख्य न्यायाधीश कृष्ण गिरीले कर्मचारीतर्फका मुद्दा दर्ता गर्दैमा प्रशासनिक अदालत जानुपर्ने बताए । “उच्च अदालत वा सर्वोच्चमा दर्ता नगर भन्न मिलेन, गरेकालाई उता लैजाऊ भन्न पनि अप्ठ्यारो छ”, उनले भने, “कानुन व्यवसायी र कर्मचारी स्वयंले प्रशासकीय अदालतमा जान सके छिटो न्याय निरुपण हुन सक्छ ।”

तत्कालका लागि कर्मचारी काज खटाउने पद्धतिलाई नियमित कार्यजस्तो बनेको भन्दै सो विषय पनि प्रशासनिक अदालतले हेर्नुपर्ने उनले बताए । “काज बस्ने अधिकारलाई सरुवा जस्तो बाध्यात्मक र अप्ठ्यारो बनाउन मिल्दैन,” न्यायाधीश गिरीले भने, “अधिकार क्षेत्रबारे सबैको चासो भएमा कर्मचारीको मुद्दाहरु छिटो टुङ्गोमा पुग्छन् ।” उनले नेपालको न्याय प्रशासन चुस्त बनाउन अझै नसकिएको गुनासो गरे ।

निमित्त कर्मचारीले न्यायिक निरुपण गरेको, कार्य सम्पादन मूल्याङ्कन नभरेको, बढुवा समयमा नभएको जस्ता मुद्दा प्रशासनिक अदालतले हेर्छ । साथै, कर्मचारी बीचका अन्य विवाद पनि छिटो फैसलाका लागि प्रशासनिक अदालत जान सकिने व्यवस्था छ । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, उच्च अदालत बार एसोसिएशनका अध्यक्ष अखिलनाथ शर्मा, अधिवक्ता लक्ष्मीदेवी जिसीसहित विभिन्न क्षेत्रका कर्मचारीले आफ्नो क्षेत्रमा आइपरेका समस्याबारे धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले प्रशासनिक अदालतको काम कर्तव्य र अधिकारबारे कार्यपत्र प्रस्तुतीकरण गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष