मृतकका परिवारलाई प्रवासीले पठाए २० लाख
बागलुङ । दुई साताअघि सडक दुर्घटनामा परी ज्यान गुमाएका गलकोट नगरपालिका–७ मल्मका विनोद थापाको परिवारलाई जापान र लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले राहत रकम पठाएका छन् ।
घुम्टे युवा परिवार जापान शाखाको पहलमा सङ्कलित रु १८ लाख ८५ हजार र लक्जम्बर्गमा रहेका आफन्तजनबाट प्राप्त रु दुई लाख थापाको तेह्रौँ दिनको पुण्यतिथिमा परिवारजनलाई हस्तान्तरण गरिएको हो ।
सो राहत रकम वडाध्यक्ष राज थापा र घुयुप जापान शाखाका सचिव तुलवीर थापाले विनोदका बुबा द्रोणबहादुरलाई प्रदान गरेका थिए । छोराको वियोगसँगै परिवार आर्थिक समस्यामा जेलिएपछि राहत अभियान चलाइएको सचिव थापाले बताए । “एक सातामै स्वतःस्फूर्त रूपमा रकम सङ्कलन भयो, अभियानमा जापानमा रहनुभएका गलकोटे धेरै जोडिनुभएको छ”, उनले भने, “दिवङ्गत विनोद थापाका बैनीहरुको पढाइ र परिवारको जीविकाका लागि केही सहयोग पुगोस् भनेर राहत प्रदान गरेका हौँ ।”
राहत अभियानमा शाखाका उपाध्यक्ष दुर्गा थापा, युवा संयोजक प्रकाश केसी र सल्लाहकार कुलवीर थापा विशेषरूपमा खटेका थिए । वडाध्यक्ष थापाले गाउँछिमेकमा विपद् पर्दा प्रवासमा रहेका नेपालीहरुले गर्ने सहयोग अतुलनीय रहने बताए । उनले घुम्टे युवा परिवारका देशभित्र र बाहिर रहेका शाखाले सामाजिक तथा मानवीय सेवामा पु¥याएको योगदानको प्रशंसा गरे ।
गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपका अध्यक्ष थम्मन थापाले जापान शाखामार्फत गलकोटमा ठूलो सहयोग भित्रिएको बताए । गाउँको गाह्रोसाह्रोमा आर्थिक सहयोगदेखि सामाजिक विकासका काममा घुयुपले हातेमालो गर्दै आएको उनको भनाइ छ । चितवनमा मोटरसाइकलमा सवार रहेका बेला विद्यालय बसको ठक्करबाट विनोदको निधन भएको थियो । भिसा लागेर जापान जाने तयारीमा रहेका थापाले अल्पायुमै ज्यान गुमाउनुपरेको थियो । उनका बुबाआमा र तीन बहिनी छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया