NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

शंकर पोखरेलका नजरमा प्रचण्ड–माधवका १२ अवसरवाद

काठमाडौ । नेकपा एमालेका महासचिव शंकरले पोखरेलले प्रचण्ड–माधव नेपाल चरम् अवसरवादी भएको टिप्पणी गरेका छन् । ‘नेकपा कालमा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध प्रचण्ड–माधवले जे–जे आरोप लगाई पार्टी विघटन गर्न भूमिका खेलेका थिए, अहिले ती सबै विषय छाडेर आफूलाई चरम अवसरवादी प्रमाणित गरेको छन्,’ आइतबार पाखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर पनि प्रचण्ड र माधव नेपालको साथ दिनेहरू अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन् ।’
प्रचण्ड–माधवमाथि टिप्पणी गर्दै उनले यी तथ्यहरूले सत्यसँग लड्न सकिँदैन र हुँदैन भन्ने चेतना उनीहरूमा आउनुपर्ने बताए ।

‘यी तथ्यहरूले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरू कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरू दुवैबाट सञ्चालित अभियानहरू सत्ता स्वार्थवाट प्रेरित दक्षिणपन्थी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको छ । यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरूले नयाँ ढंगले सोच्ने बेला भएन र ?’

यस्ता छन् पोखरेलले औंल्याएका प्रचण्ड–माधवका १२ अवसरवाद

१. जनादेश खण्डित भएको अवस्थामा जनतामा जानेकुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानिय चुनाव अगावै वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेकां दुवैले अस्वीकार गरे ।

४० प्रतिशत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउनेगरी ल्याएको अध्यादेशको विरोध गरे । नेपाली कांग्रेससमेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिशतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसँगै उक्त अध्यादेश फिर्ता लिए ।

३. पार्टी एकताका लागि प्रम र पार्टी अध्यक्षमध्ये एक पद छोड्नु पर्ने मागसहित एक व्यक्ति एक पदको कुरा गरे । तर पार्टी विभाजनपछि प्रचण्ड र माधव नेपाल दुवै आफैंले अघि सारेको मान्यताविपरीत पार्टी र दलको नेता बन्न पुगे ।

४. नेकपा कालमा सभामुखमार्फत संसदमा एमसिसी टेबल गर्नमा रोक लगाए । तर नेपाली कांग्रेसले दबाब दिनेबित्तिकै सभामुखमार्फत संसदमा टेवल गर्न लगाए ।

५. एमसीसीमार्फत सहायता पाउनका लागि आफू सरकारमा रहँदा पत्राचार गरे । सरकारमै रहेका बेला सम्झौता समेत गरे । तर एमसिसी राष्ट्रघाती सम्झौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलनसम्मको रमिता देखाए । तर अहिले सत्ताबाट बाहिरिने त्रास बढेपछि एमसिसी पास गर्न तयार भए ।

६. नेकपा गठनपछि आफैंले छाडेको र पार्टीले अस्वीकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दाबी छाडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेपाली कांग्रेसको नेतृत्वको सरकारमा निशर्त सहभागी भए ।

७.नेकपा कालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिँदा देखिँदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउँदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।

८. माधव नेपालले सदैव आफूलाई विधि र पद्धतिको पक्षमा रहेको दाबी गरे । तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धति उलंघन गर्ने नेताका रूपमा आफूलाई प्रस्तुत गरे ।

९. अदालतमा सेटिङको आरोप केपी शर्मा ओलीमाथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङवाट निर्माण भएको पुष्टि हुन पुग्यो । अनि अदालतमा विचाराधीन मुद्दा र स्थानीय निर्वाचन सार्नका लागि प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने काम गरे । निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।

१०. नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावनाविपरीत महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चँदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यबाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधीन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छाडे । यतिबेला माधव नेपाल र प्रचण्ड दुवै अलग अलग पार्टीको मुखिया बन्न पुगेका छन् ।

११. हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलिय गठवन्धन अपरिहार्य रहेको बताउन थालेका छन् । चुनवामा जान खुट्टा कमाइ रहेका छन् ।

१२. नेकपा भंग भएपछि नेकपा (एमाले) सँग कुनै प्रकारको सहकार्य गर्न सकिँदैन भन्दै घृणाको राजनीति गरे । जब एमसिसी प्रकरणमा नेपाली कांग्रेसले सरकारबाट हटाउने कुरा गर्न थाल्यो तब नेकपा (एमाले)सँग वामपन्थी सहकार्यको प्रस्ताव राख्न पुगे ।