जब इकार्डी मेसीका साथीकी श्रीमतीको प्रेममा परे : के पाए, के गुमाए ?

काठमाडौं । पछिल्लो समय नेपाली क्रिकेटका ग्लोबल सन्दीप लामिछाने नाबालिग बलात्कारकाण्डमा फसेपछि निलम्बनमा परेका छन् । आरोप पुष्टि भए विश्वभरी छाइरहेका सन्दीपको क्रिकेट करिअर लगभग सकिने निश्चित छ ।
यौन र प्रेम जीवनलाई बसमा राख्न नसक्दा विश्व चर्चित धेरै खेलाडीको खेलजीवन धरासयी बनेको छ । यसको अर्को उदाहरण हुन् अर्जेन्टिनी फुटबलर माउरो इकार्डी ।
पाँच फिट ११ इन्च अग्ला इकार्डी अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका प्रमुख स्ट्राइकर हुने हैसियत राख्ने खेलाडी हुन् । तर, उनले त्यो अवसर पाउन सकेका छैनन् । पछिल्लो समय त उनी राष्ट्रिय टोलीमा नपरेको पनि ४ वर्ष भइसक्यो । यसको एउटै कारण छ उनको प्रेमजीवन ।
सन् २०१३ को कुरा हो । इकार्डी र अर्जेन्टिनाकै खेलाडी म्याक्सी लोपेज दुवै इटालियन क्लब साप्पाडोरिमाबाट खेल्थे ।
यसैकारण इकार्डी लोपेजसँग अति मिल्थे । एकपटक अविवाहित इकार्डी र लोपेजको परिवार विदा मनाउन कतै गए ।
सोही बेला इकार्डी र लोपेजकी श्रीमती वाब्डा नारा नजिकिए । अन्ततः इकार्डी २ बच्चाकी आमासमेत रहेकी आफ्नै साथीकी श्रीमतीको प्रेममा परे । यो कुरा सार्वजनिक भएपछि लोपेज र नाराबीच सम्बन्ध बिच्छेद भयो । पछि इकार्डी र नाराले विवाह गरे ।
इकार्डी आफूले मनपराएकी महिलालाई पाउन सफल त भए तर त्यो घटनाले उनले अन्तर्राष्ट्रिय फुटबल करिअर भने लगभग समाप्त गरिदियो ।
किनकि, इकार्डीले जसकी श्रीमती हत्याए । उनी अर्जेन्टिनी वर्तमान कप्तान लियोनल मेसीका मिल्ने साथी हुन् । मेसी र म्याक्सीले सन् २००५ तिर स्पेनिस क्लब बार्सिलोनामा सँगै खेलेका थिए ।
यसैकारण यस घटनापछि मेसी इकार्डीसँग असाध्यै रिसाए । अर्जेन्टिनी टोलीमा प्रशिक्षकभन्दा मेसीको बोलवाला चल्ने आरोप लाग्ने गर्छ । उनकै कारण राम्रो लयमा हुँदासमेत इकार्डी प्रमुख प्रतियोगितामा अर्जेन्टिनी टोलीमा पर्न नसकेको विश्लेषण गरिएको छ ।
किनकि, सन् २०१५ मा इकार्डी इटालियन क्लब इन्टर मिलनको कप्तान बनेका थिए । २०१७ सम्म उनले राम्रो प्रदर्शन गरे । यसका बीच उनको राष्ट्रिय टोलीमा खासै स्थान पाएनन् । पाएका थोरै अवसरमा पनि उनलाई साथीहरूले सहयोग नगरेको बताइन्छ । यसैकारण ८ खेल खेल्दा उनले जम्मा १ गोल गरेका छन्, त्यो पनि मैत्रीपूर्ण खेलमा । जबकि, उनी क्लब स्तरमा एकपछि अर्को गोल गरिरहेका थिए ।
सन् २०१८ को विश्वकपपछिका मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले मेसी, एंगेल डि मारिया, सर्जियो अग्वेराजस्ता सिनियर खेलाडीलाई विश्राम दिएका थिए । त्यही बेला इकार्डी प्रमुख खेलाडी भए । मेक्सिकोविरुद्ध ४–० ले खेल जित्दा उनले पनि गोल गरेका थिए ।
तर, खेलपछिको प्रतिक्रियामा इकार्डीले पुरानो तुस ओकले । केही सिनियर खेलाडीका कारण टोलीमा ग्रुपीजम भएको र त्यसको शिकार आफूजस्ता खेलाडी बन्नुपरेको बताए । मेसीपक्षले यसको खण्डन गर्यो । त्यो त्यतिमै मात्र सीमित भएन । त्यसयता इकार्डी कहिल्यै राष्ट्रिय टोलीमा परेका छैनन् ।
गत वर्ष मेसी फ्रेन्च क्लब पिएसजी गए । जहाँ इकार्डी त्यही क्लबमा थिए । तर, पनि उनीहरूबीच सम्बन्ध सुध्रिएन । अहिले इकार्डी लोनमा टर्कीस क्लब गालाटासरे गएका छन् ।
इन्टर मिलनका कप्तान रहँदासमेत विश्वकप टोलीमा नपरेका इकार्डी आउँदो विश्वकपको टोलीमा पर्ने सम्भावना लगभग छैन । विश्वकपको तयारीका लागि यसै महिना खेलिन लागेका २ मैत्रीपूर्ण खेलमा उनलाई नबोलाइएकाले यसको थप पुष्टि गर्छ ।
यसरी एउटी महिलाको प्रेममा परेकै कारण एउटा राम्रो स्ट्राइकरको अन्तर्राष्ट्रिय खेलजीवन सकिएको छ ।
स्वारेजले छाने विश्वकप जित्न सक्षम ३ राष्ट्र, प्रमुख प्रतिद्धन्द्धी नै पहिलो दाबेदार
प्रतिक्रिया