NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

एयरपोर्टको तीन तहको सुरक्षा घेराबाट अपराधी फरार, दुई अधिकृतमाथि अनुसन्धान

काठमाडौं। वैदेशिक रोजगार ठगी कसूरमा कालोसूचीमा परेका श्यामराज पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाटै फरार भएका छन् । तीन घेरामा रहेका विमानस्थलका सुरक्षाकर्मीलाई छक्याएर अपराधी फरार भएपछि गृह मन्त्रालयलाई टाउको दुखाइ भएको छ ।

कात्तिक ७ गते जापान भाग्न लागेका पाण्डेलाई विमानस्थलस्थित अध्यागमनका कर्मचारीले कालोसूचीमा परेको जानकारी हुँदाहुँदै भगाएका हुन् । अध्यागमनमा खटिएका अधिकृत सन्तोष सुवेदीले राहदानी नं. १२३४३४१२ बाहक पाण्डेलाई भगाएको भन्दै अध्यागमन विभागले सुवेदी र अर्का अधिकृत गणेशविक्रम शाहलाई छानबिनमा तानेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कजस्तो संवेदनशील जिम्मेवारीमा बसेका अधिकृतले अपराधिक समूहसँग साँठगाँठ गरेको पाइएकाले छानबिनमा तानेको अध्यागमन विभाग स्रोतले जनाएको छ ।

दुवै अधिकृतलाई विभागमा तानेर अनुसन्धान भइरहेको विभाग स्रोतले जनाएको छ । ‘हामी अनुसन्धानकै क्रममा छौं । विभागका एक अधिकारीले भने, ‘सन्तोष सुवेदी भन्ने अधिकृतले कालोसूचीमा परेको पाण्डेलाई प्रस्थान कक्षको ९ नम्बर डेस्कसम्म सँगै लगेको, सम्बन्धित डेस्क अफिसरसँग २/३ चरण कुरा गराएर कालोसूचीमा परेको भेटिएपछि प्रस्थान कक्षबाट भ–याङ्गसम्म छाडेर भगाएको देखिएको छ ।’

कुनै व्यक्ति कालोसूचीमा परेको भेटिएमा तत्कालै प्रहरीलाई खबर गरेर बुझाउनु पर्नेमा अधिकृत सुवेदीले अर्का अधिकृत गणेशविक्रम शाहसँग मिलेर अपराधी पाण्डेलाई भगाएको अध्यागमन विभागको आरोप छ ।

छानबिन नसकिएकाले त्यसबारे यही भन्न नसक्ने विभागले जनाएको छ ।

आरोपित अधिकृत शाहले भने कालोसूचीमा रहेका पाण्डे भाग्नुमा आफ्नो दोष नभएको दाबी गरेका छन् । उनले अर्का अधिकृत सन्तोष सुवेदीले श्यामराज पाण्डेलाई चिनजानको साथी भनेर आफ्नो डेस्कमा ल्याएको स्वीकारेका छन् । विभागले कालोसूचीमा राखेकाले तपाईं विदेश जान पाउनु हुन्न भनेर प्रहरीलाई बुझाउन प्रक्रिया अघि बढाउँदा बढाउँदै पाण्डे त्यहीँबाट फरार भएको उनको जिकिर छ ।

शाहले भने, ‘पत्र बनाउने क्रममा उहाँ गायब हुनुभयो । खोज्न गएको, भेट्न सकिएन । कहाँ लुके नै थाहा भएन ।’

एयरपोर्टभित्र छिरेको मान्छे प्रहरीको आँखा छलेर कसरी बाहिर निस्कियो भन्ने विषयमा आफैं चकित भएको उनको भनाइ छ ।

शाह भन्छन्, ‘मेरो दोष छैन । पत्र बनाउनेक्रममा मान्छे गायब भयो । प्रहरीको तीन वटा घेराबाट अपराधी कसरी बाहिर निस्कियो ?’

यसबारे प्रहरीमाथि अनुसन्धान हुनुपर्ने उनको सुझाव छ ।