सुशासनबाट मुलुकको समृद्धि कायम हुन्छ : नेता कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरेका छन् ।
विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उनले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरे । नेता कोइरालाले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गरे ।
नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने उनले धारण राखे । केशलिया खोलामा सुनसरीको दुहवीदेखि विराटनगरको रानीसम्म सडक करिडोर निर्माण गर्न रु १४ अर्बको योजना अगाडि बढेको डा कोइरालले सो अवसरमा जानकारी दिए ।
उनले लोकतन्त्रलाई सुदृढीकरण गर्न, संविधानको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रणका लागिसमेत आगामी निर्वाचनमा गठबन्धन दलले जित्नुपर्ने आवश्यक्ता औल्याए ।
राष्ट्रियसभामा कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले नगरलाई दोस्रो ठूलो सहरको रुपमा विकासमा गर्न गठबन्धन दलका उम्मेदवारको विजयी सुनिश्चित गराउन आग्रह गरे । राष्ट्रियसभाका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवार जित्नुपर्ने बताए ।
मोरङ क्षेत्र नं ६ मा कांग्रेसबाट समानुपातिकतर्फका उम्मेदवार चुमनारायण तवदारले रोजगारी सिर्जनाका लागि उद्योगको स्थापना, प्राविधिक शिक्षा र बाढीबाट नगरको संरक्षणका लागि तटबन्ध निर्माण गर्न गठबन्धनको जित आवश्यक रहेको धारणा राखे ।
मोरङ क्षेत्र नं ६ ‘क’ मा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्यले शिक्षा, स्वास्थ्य, सुकुम्बासी समस्या समाधान र नगरको भौतिक पूर्वाधार निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया