NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १० गते

नगरपालिकाको खेल मैदानबाट अवैध बालुवा उत्खनन

काठमाडौंः चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेक्दार कम्पनीले मापदण्ड विपरीत बालुवा उत्खनन गरिरहेको पाइएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरीत बालुवा उत्खनन गरेको हो । ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौता वितरीत जमिनको लेबलभन्दा करिब २५/३० फिट तल गएर बालुवा उत्खनन गरेको हो । करिब ९३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको खेल मैदान २०७९ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०७७ असार १७ गते आगन्जासँग सम्झौता भएको थियो । सो सम्झौता अनुसार ठेकेदार कम्पनीले जमिनको लेबलसम्म सम्याउने र त्यस क्रममा निस्किने माटो, बालुवा तथा अन्य निर्माण जन्य सामाग्रीको उत्खनन र बिक्रिवितरण गर्न पाउने गरी ८ करोड ६४ लाख रुपैयाँमा जिम्मा पाएको थियो । तर, नगरपालिकासँग भएको सम्झौता विपरित ठेकेदार कम्पनीले बालुवा उत्खनन् गरिरहेको स्थानीयले बताएका छन् । स्थानीयहरुले विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र सो वरिपरि रहेका बस्ती समेत जोखिममा पर्ने गरी सरकारी सम्पत्तीको चोरी निकासी भइरेको आरोप लगाएका छन् । चाँगुनारायण नगरपालिकाले पनि ठेक्दार कम्पनी आगन्जाले यसअघि पनि बारम्बार मापदण्ड विपरीत बालुवा उत्खनन गरी बिक्री वितरण गर्दै आएको स्वीकार गरेको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत एवं सूचना अधिकारी सिद्धान्त न्यौपानेले एक महिना अघि पनि जिल्ला प्रशासन कार्यालय, भक्तपुरमार्फत उक्त कार्य रोक्न निर्देशन दिएको बताए । उनले सम्झौता भन्दा बाहेक गरिएका कार्य गैरकानूनी भएको भन्दै उक्त कार्य तत्काल रोक लगाउनेसमेत बताए । बिहीबार बिहान पनि ठेकेदार कम्पनीले करिब १० ठाउँमा जमिन भन्दा २५/३० फिट मुनि गएर बालुवा उत्खनन गरिरहेको थियो । तर स्थानीयको कडा विरोधपछि तत्काल ती स्थानमा डोजर लगाएर सम्याउने काम भएको थियो ।