NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नवनियुक्त सात मन्त्रीसहित एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । आजै भएको मन्त्रिपरिषद् विस्तारमा नयाँ नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ । सञ्चारमन्त्री नियुक्त थापा पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन् । त्यसैगरी, आशाकुमारी वि।क।लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ । २०७८ वैशाख ३१ गते संसदको ठूलो दलको नेताको हैसियतले ओली अल्पमतको प्रधानमन्त्री बनेका थिए । तर, संसदमा बहुमत पुर्‍याउन नसक्ने भन्दै मार्ग प्रश्स्त गरेका ओलीले संसद विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गरेको यो दोस्रोपटक हो । विपक्षी पार्टीहरुले कामचलाउ सरकारको विस्तारलाई असंवैधानिक भन्दै आएका छन् । संसद् पुनस्थापनाका लागि विपक्षी गठबन्धनका सांसदहरुले दायर गरेको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।