NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोभिडको दोस्रो लहरः कस्तो रहला सेयर बजारको यात्रा

काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहर लागेसँगै अब सेयर बजार के होला भन्ने चासो आम लगानीकर्ताहरूमा छ । गत वर्षको कोभिडमा बन्द भएको सेयर बजार यस वर्षको कोभिडमा भने बन्द नहुने भएको छ ।

विस्तारै कोभिडले पुनः गत वर्षको हालत नबनाउला भन्न नसकिने अवस्था रहेको छ । यस्तो अवस्थामा पूँजीबजारमा कोभिडले कस्तो असर गर्ला भन्ने एक किसिमको चासो सबैमा रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पूंँजीबजार फोरमका सभापति तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले कोभिडको दोस्रो लहरमा पनि बजार धेरै तल आउने गरी नघट्ने बताए । हाल कोभिडको त्रासबाहेक बजार घट्नपर्ने कुनै कारण नभएका कारण बजार कोभिडमा बजार अझै बढ्ने अनुमान रहेको उनी बताउँछन् ।

गतवर्षको जस्तो यसवर्ष कोभिडले सेयर बजारलाई असर नपु¥याउने आफ्नो अनुमान रहेको पौडेल बताउँछन् । ‘पहिलोपटक गत साल कोभिड आउँदा के होला भन्ने आम मानिसमा थियो र त्यो बेलमा सबैसँग अनलाइन नभएका कारण सेयर बजार बन्द गर्नुपरेकाले पनि बजार तल झरेको थियो’, उनले भने । यसवर्ष भने गत वर्षको तुलनामा धेरै फरक रहेको उनको भनाइ छ । गतवर्ष कोरोनाको मारमा बैंकहरूको विवरण कस्ता आउला र कम्पनीहरूले लाभांश दिन नसक्लान भन्ने थियो ।

तर, कोभिडको बावजुत पनि सूचीकृत कम्पनीहरूको नाफा बढेकै रिपोर्ट आयो र कम्पनीहरूले दिनसक्ने जति लाभांश पनि दिए । ‘गत सालको कहालीलाग्दो लकडाउनपछि पनि सूचीकृत कम्पनीको अवस्था राम्रो रह्यो । पूँजीबजार आफ्नै गति लयमा हिँड्ने भएकाले कहिले घट्ने त कहिले बड्ने भइहाल्छ । तर, कोभिडले भने यसपटक बजारमा असर गर्ने अवस्था देखिँदैन’, उनले भने ।

कोभिडले गर्दा बैंकहरूको ब्याजदर पनि सस्तो छ । उनले अघि भने, ‘मानिसहरूले बैंकको ब्याजदरमा राख्ने पैसा ब्याजमाभन्दा बजारमा लगाउदा फाइदा हुन्छ भन्ने कुरा पहिलेको कोरोना महामारीकोपछिको सेयर बजारबाट बुझिसकेका छन् ।’

अन्य क्षेत्रमा संकुशचन भएका कारण पूँजीबजारमा लगानी बढ्ने संकेत देखिएको र पहिलो कोभिड बजारबाट कमाएर केही समय बजारमा नआएका पनि अब पुनः बजारमा फर्किने आधारहरू तयार भइसकेको उनको अनुमान छ ।

त्यस्तै नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षण चौधरीका अनुसार दोस्रो लहरको कोभिडमा बजार सधैं चालू रहेमा र देशको अवस्था धेरै भयाभहक नभए बजारले लय नै समात्ने बताउँछिन् । ‘पहिले कोरोना भाइरस आउँदा निरन्तर घटेको बजार पछि उसैगरी निरन्तर बढेको थियो ।

यसपटक पनि बजार २७ बिन्दुमाथि पुगेर कोभिडको अर्को लहर आएसँगै घटेर २५ मुनि सम्म आयो,’ उनले भनिन्, ‘लकडाउन भए पनि सेयर बजार सुचारु नै रहने सूचना नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आएपछि हाल बजार विस्तारै बढ्ने क्रममा रहेको छ ।’

हाल सबै लगानीकर्ताहरूले आफ्नो घरैमा बसेर सेयर किनबेच गर्न सक्ने हुँदा लकडाउन भए पनि कमाउने क्षेत्र यही सेयर बजार रहको उनको दावी छ । केही दिनयता सेयर बजारमा कारोबार रकम खासै उत्साहाजनक नभए पनि पछिको दिनमा अन्य क्षेत्र बन्द रहने हुँदा बाहिरी लगानीकर्ता पनि बजार प्रवेश गर्ने उनको अनुमान छ ।

कोभिडको दोस्रो लहरमा पनि बजार बन्द नहुने सूचना आएपछि लगानीकर्ता नआत्तिकन कारोबार गर्ने हुनाले बजार बढ्नसक्ने ब्रोकर एशोशिएसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् । उनी भन्छन् ‘यदि मानिसहरूमा कोभिडको धेरै त्रास भएको भए तीन/चार अर्बको दैनिक कारोबार हुने थिएन । यो बेलामा पनि यतिको कारोबार हुनु राम्रो संकेत हो ।’

सेयर बजारमा कारोबार गर्ने प्राय सबै लगानीकर्ताहरूसँग अनलाइन प्रणाली रहेको छ । धेरै जसो लगानीकर्ता अनलाइनमा कारोबार गर्न पोख्तसमेत भइसकेका कारण कोभिडले सेयर बजारलाई असर नगर्ने उनको भनाइ छ ।

हाल ८५ प्रतिशतसम्म अनलाइन प्रणालीबाटै कारोबार हुँदै आएकाले कोभिडमा पनि घरैमा बसेर कारोबार गर्न सक्ने र कारोबार रकम तथा बजार पनि थप उकालो लाग्ने संकेत देखिएको उनी बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८, १८:०३:४४