रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई : अतिवादका पर्याय

कोरोना महामारीको दुखद समाचारले सामाजिक सञ्जाल भरिएका छन् । एक मुठी अक्सिजनको अभावमा अकालमा ज्यान गुमाइरहेका नागरिकको कारुणिक कथाले समाज विक्षिप्त छ ।
मानविय संकटको यस्तो विषम परिस्थितीमा पनि सामाजिक सञ्जालमा घृणा र अश्लील गालीको बर्षा हुन रोकिएको छैन । त्यसको नेतृत्व गरिरहेका छन्, सरकारको रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले ।
सरकारले २७ जेठ ०७७ मा मन्त्रिपरिषद्को निर्णयबाट भट्टराईलाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक नियुक्त गरेको थियो ।
महाप्रवन्धकमा नियुक्ति अघिसम्म भट्टराईको नाम गुमनाम थियो ।
रेल्वे कम्पनी प्राविधिक क्षेत्र भएकाले त्यसको प्रमुखमा नियुक्त व्यक्ति भुगर्भ सम्वन्धी स्थापित इन्जिनियर होलान् भन्ने अपेक्षा थियो । तर, भट्टराईको नाम इन्जिनियरिङ क्षेत्रमा स्थापित थिएन । इन्जिनियरिङ क्षेत्रमा नामै नसुनिएका उनलाई सरकारले रेल्वे कम्पनीको महाप्रबन्धक बनाएपछि उनीबारे चासो बढ्नु स्वभाविकै थियो ।
तर उक्त पदमा नियुक्त भट्टराईले आफूलाई नियुक्त गर्ने पक्ष इतर सामाजिक सञ्जालमा प्रयोग गरेका शब्द, गालीगलौजले सरकारले सार्वजनिक पदमा नियुक्त गर्ने मापदण्ड र निष्पक्षतामाथि निरन्तर प्रश्न उठिरहेको छ । तर, यो प्रश्नको अहिलेसम्म सम्बोधन भएको छैन । भट्टराईले लेखेको अश्लील सामाजिक सञ्जालमाथि सरकार बेखबर र मुकदर्शक बनिरहेको छ ।
राज्यको द्रुतगत आर्थिक विकासमा प्रत्यक्ष भूमिका खेल्ने रेल्वे कम्पनी जस्ता निकायहरुमा नियुक्तिको निर्णय लिदा कस्तो सामाजिक चेतना, मर्यादा र संस्कार बोकेको पात्रलाई जिम्मेवारी दिइन्छ भन्ने बलियो प्रश्न र उदाहरण बनेका छन्, भट्टराई ।
उनको ट्वीटर ह्याण्डलबाट सार्वजनिक एउटा ट्वीट हेरौँ ।
अस्ति ३१ वैशाखको मध्यराती १२ बजेर १५ मिनेटमा रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले @thenaraan & @khalubaby लाई मेन्सन गर्दै लेखेको वाक्य हो यो । समग्र देशको भविष्यसँग जोडिएको रेल्वे कम्पनीको महाप्रवन्धकले यो स्तरको भाषा प्रयोग गर्न पाइने हो कि होईन ? सरकारको ध्यानाकर्षण हुनु पर्ने हो ।
महाप्रवन्धक भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीका विस्वास पात्र हुन् । उनै प्रधानमन्त्रीले भट्टराईलाई महाप्रवन्धकमा नियुक्त गरेका हुन् ।
त्यसैले पनि भट्टराईले सामाजिक सञ्जालमा व्यक्त गरेका अश्लील शब्दहरुले गम्भिर प्रश्न उठाएको छ, आफु विरोधीलाई पदिय मर्यादा कुल्चेर अश्लील गालीगलौज गरिरहँदा समेत उनलाई फुक्काफाल छाड्नुको कारण प्रधानमन्त्रीकै संरक्षण त होईन ?
किनभने भट्टराईले प्रधानमन्त्री ओलीसँग असहमति राख्ने नेताहरु विरुद्ध सामाजिक सञ्जालमा ‘गाली पुराण’ महाप्रबन्धक नियुक्त पछि मात्र गरेका होइनन् ।
रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्तिसँगै उनका फेसबुक र ट्वीटर ‘सर्च’ भएका थिए । उनले प्रधानमन्त्री केपी ओलीको ‘प्रशंशा’ मा सयौं शब्दहरु खर्च गरेका थिए ।
अनि प्रधानमन्त्रीसँग अन्तर संघर्ष गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायतहरु विरुद्ध निच तहका अश्लिल गालीगलौजको वर्षा गरिरहेका थिए ।
रेल्वे कम्पनीको महाप्रबन्धकको गुरुत्तर दायित्व पाएपछि जिम्मेवारीको भारीले किचेर भट्टराई निच तहका गाली गलौजमा नउत्रिएलान भन्ने धेरैको अनुमान थियो । तर, उनले त्यो अपेक्षामा तातोपानी खन्याइदिएका छन् । बरु भट्टराईको गैरजिम्मेवारी र अश्लिलताको हद पहिले भन्दा बढेर गएको छ ।
करिब तीन महिना अघि २ फागुन ०७७ मा आफू हुर्केबढेको महोत्तरी बर्दिबासका एक स्थानीयसँग महाप्रबन्धक भट्टराईले गरेको १३ मिनेट ४ सेकेण्डको संवाद सार्वजनिक भएको थियो । त्यसबेला उनले उच्चाहरण गरेका वाक्यहरुलाई सरकारले गम्भीरतापूर्वक लिन्थ्यो भने महाप्रबन्धक भट्टराई बर्खास्तीमा त पर्ने थिए नै, थप सजायको भागेदार समेत बन्नु पर्ने थियो ।
उक्त संवादमा भट्टराईले ‘म रेल्वे कम्पनीको महाप्रबन्धक हुँ । म केपी ओलीकै छोरो हुँ’ जस्ता शब्द दशौं पटक दोहोर्याएका त थिए नै, सुन्नै कठिन हुने अश्लिल शब्द बोलेका थिए । ‘एक घण्टाभित्र अपहरण गर्न सकिन भने बाउको छोरो नै होइन ।’ जस्ता शब्द बोल्दै ‘तँलाई दुई मिनेटभित्र बसेको ठाउँबाटै उठाउन सकिन भने म जयप्रसाद भट्टराईको छोरो नै होइन’ जस्ता वाक्य पटक–पटक दोहोर्याएका थिए । उनको त्यो संवाद सुन्दा कुनै सभ्य मानिसले त्यस्ता शब्द फोनमा बोल्नै नसक्ने प्रतित हुन्थ्यो । तर, सरकारले उनलाई फुक्काफाल छुट दियो ।
पछिल्ला दिनमा महाप्रवन्धक भट्टराईले आफ्नो फेसबुक र ट्वीटर ह्याडिलबाट गरेका अश्लिलताका अरु केही प्रतिनिधि घटनाहरु नियालौं ।
३० वैशाखमा प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेकपा (एमाले) स्थायी समितिको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि गरेको कारबाही फिर्ता लिने निर्णय गर्यो ।
यो निर्णयपछि त्यही बेलुकी चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच एमाले विवाद मिलाउने विषयमा चार घण्टा संवाद भयो । यता रेल्वे कम्पनीको महाप्रबन्धक भट्टराई फेसबुकमा लेख्दै थिए, ‘पशुलाई बेस्सरी लौरोले दनक दिनु छ भने घरी घरी हरियो घाँस देखाएर नजिक बोलाउनुपर्छ अनि हान्नुपर्छ मच्चिएर । ४ थान पशुलाई हरियो घाँस देखाइएछ, खाने भए दह्रोसँग लौरो ।’
त्यसको अघिल्लो दिन २९ वैशाख बेलुकी ८.५५ मा एमाले उपाध्यक्ष भीम रावलको ट्वीटमा प्रतिउत्तर फर्काउँदै भट्टराईले लेखे,
‘असाधारण समस्याको समाधान गर्न असाधारण खाना खानु पर्छ । अब अन्नको साटो आची खाएर हेर्नुस त समस्या फ्याट्टै समाधान हुन्छ ।’
आफू कृषि तथा पशुपंक्षी विकास मन्त्री छँदा किसानलाई आवश्यक पर्ने युरिया मल समयमा ल्याउन नसकेको भन्दै २१ भदौ ०७७ मा घनश्याम भुसालले माफी मागेका थिए । भुसालले माफी मागेपछि महाप्रबन्धक भट्टराईले फेसबुकमा लेखे,
‘नेपालमा २० हजार वन उपभोक्ता समिति छन् । वनको पत्कर सोहोरेर एउटा उपभोक्ता समितिले २० हजार बोरा कम्पोष्ट मल बनाए भने ४० करोड ब्याक कम्पोष्ट मल तयार हुन्छ । माननीय मन्त्री घनश्याम भुसाल युरिया मल दिन सकिनँ भनेर माफी माग्नु हुन्छ । दलाल पुँजीवाद भन्दै राजनीतिलाई सरापे जस्तो हैन र छ नि हैन कमरेड ? जबसम्म धर्तीमा टेकेर राजनीति गरिँदैन नि, हो खुइलिन समय लाग्दैन ।’
पछिल्ला दिनमा सामाजिक सञ्जालमा भट्टराईको अश्लिलता एकपछि अर्को गरी बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्थ मन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले सचिव योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको ट्वीटलाई ‘मेन्सन’ गरेर अस्ति ३१ बैशाखमा @BharatKShrestha4 ले आफ्नो ह्याण्डिबाट ट्वीट लेखे,
भरत श्रेष्ठले यस्तो लेखेकै भोलिपल्ट १ जेठमा @lovebinita123 ले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीको स्वकीय सचिवालयमा कार्यरत रामशरण बजगाई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटलाई ‘मेन्सन’ गर्दै लेखिन, ‘पदिय मर्यादा बिर्सेर अश्लील लेख्ने रेलको जिएम @gurubhtt लाई तुरुन्तै बर्खास्त गरियोस् ।’
त्यही दिन @asmitathapa52ले प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याण्डिललाई बा सम्बोधन गर्दै लेखिन, ‘मन्त्री मण्डल फेर्दा रेलको ड्राइभर पनि फेरियोस् ।’ पछिल्ला दुई दिन यता भने भट्टराईको ट्वीटर ह्याण्डिल खोल्दा ‘दिस अकाउन्ट डजन्ट इग्जिस्ट’ मात्र देखिन्छ ।
ट्वीटर ह्याण्डिल ‘सस्पेष्ड’ भए पनि भट्टराईले फेसबुकबाट छेडखान र प्रशश्ति जारी राखेका छन् ।
३ जेठ राती ९ : १९ मा भट्टराईले फेसबुकमा लेखेका छन्, ‘मदन भण्डारीले पार्टी सिद्धान्त जनताको बहुदलीय जनवाद अघि सार्दा त्यसको विरोध गर्ने माधव नेपाल, झलनाथ खनाल, सिपी मैनालीहरु हुन् । त्यसको पक्षमा त्यसबेला केपी ओली र बामदेव उभिएका हुन । केपी ओली कहिल्यै दुई खालका कुरा गर्नु भएन । हामीले थाहा पाएदेखी केपी ओलीको एउटै चिन्तन र धारणा निरन्तर छ । अरु थुप्रै नक्कली कुरा गर्छन ।’
त्यो भन्दा ठिक ८ मिनेट अघि राती ९.११ मा भट्टराईले प्रधानमन्त्री ओलीको स्तुति गाउँदै लेखेका थिए, ‘उमेरमा बा पनि कम हिरो हुनुहुन्थ्यो र ? ४० वर्ष नुपगी ५१ सालमा गृहमन्त्री बन्नु भएका ओलीले झैं गृह प्रशासन चलाउने कौशल अरुले देखाउन सकेका छैनन भनेर पुर्व उच्च प्रहरी अधिकृत र गृह प्रशासनका कर्मचारीहरु आज पनि चर्चा गर्छन ।’
एमाले नेता एवं अनेरास्ववियुका पुर्व उपाध्यक्ष शिव गुरुङका भनाइमा विद्यार्थी कालमा भट्टराई अखिलमा आवद्ध भएर काम गरेका कार्यकर्ता होइनन । त्यसैले उनीहरु भट्टराईलाई चिन्दैनन् । ‘त्यस्ता तत्वहरुले राजनीतिक नियुक्ति लिन, नेताहरुलाई प्रभावमा पार्न संगठनमा काम गरेको हुँ भन्न सक्छन् । नेताहरुले काम गरेको हो कि होइन भनेर तथ्य जाँच गरेर हेर्दैनन् । ‘पार्टीमा काम गरेको होस् कि नहोस्, नेताहरुले आफन्त र कमिशन दिने मान्छे खोजेर नियुक्ति दिलाउँछन्,’ गुरुङ भन्छन्, ‘सार्वजनिक पदमा बसेको मान्छेले निम्न तहमा झरेर गालीगलोज गर्दा कारबाही नहुनु दु:खद छ । नेताहरुबाटै संरक्षण पाएकाले भट्टराईले ज्यादती गर्ने छुट पाइरहेका होलान ।’
महाप्रबन्धक भट्टराईको कमिसन शैली
रेल्वे विभागको महाप्रबन्धक नियुक्त भएको करिब तीन महिनापछि २३ भदौ ०७७ मा भट्टराईले रेलका लागि झन्डै ३३ अर्ब रुपैयाँको ठेक्का प्रकाशित गरेका थिए । जो प्रधानमन्त्री केपी ओलीको जिल्ला झापामा केन्द्रीत थियो । त्यो ठेक्कामा कतिसम्म मिलेमतो गरिएको थियो भने सबै राजनीतिक दलका ठेकेदारहरूबीच बाँडचुँड भएको थियो । तर, ‘सिन्डिकेट’ बाट ठेक्का निकालिएको भन्दै चौतर्फी विरोध भयो । यसपछि कर्मचारीहरूले आफू फस्ने डरले ठेक्का रद्द गरिदिए । महाप्रबन्धक भट्टराईलाई ‘पहिलो गाँसमै ढुङ्गा’ पर्यो ।
मिलेमतोमा बाँडचुँड गर्ने ठेक्कामा सफलता प्राप्त गर्न नसकेपछि महाप्रबन्धक भट्टराईले २९ भदौ ०७७ मा रेल्वे कम्पनीमा तृतीय श्रेणीका अधिकृतदेखि श्रेणी विहीनसम्म २९ जना कर्मचारीको करार दरबन्दीका लागि विज्ञापन आह्वान गरेका थिए । त्यो विज्ञापनको समेत ढाँचा मिलेको थिएन ।
ओखलढुङ्गाको च्यानम पुख्र्यौली थलोबाट भट्टराईका पिता जयप्रसाद महोत्तरीको बर्दीवास बसाईं सरेका थिए । भट्टराईले महोत्तरीको बर्दिवासस्थित जनता माविबाट एसएलसी पास गरेका हुन् । उनका दाजु माधव प्रसाद भट्टराई पनि इन्जिनियर नै छन् । जो यसबेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नै कार्यरत छन् । करिब दुई महिना अघिसम्म माधव भट्टराई पुल्चोकस्थित सडक विभाग अन्र्तगत पुल महाशाखाका प्रमुख थिए ।
जानकारका अनुसार गुरु भट्टराईलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलको मजबुत धाप छ । पोखरेलकै कृपाबाट उनी रेल्वे कम्पनीको महाप्रबन्धक बन्न सफल भएका थिए । जानकारहरु कतिसम्म दाबी गर्छन भने पोखरेलकै निर्देशनमा भट्टराईले प्रचण्ड, नेपाल, रावललगायत विरुद्ध विष बमन गरेका हुन् । उनले भट्टराईलाई किन धाप दिएका हुन् भने पोखरेलको पुख्र्यौली थलो पनि ओखलढुङ्गाको साविक माम्खा गाविसस्थित रुपनालु हो । च्यानम र रुपनालु खासै टाढा छैनन् ।
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीका शब्दमा सद्दे मान्छे भए अरुप्रति निच कुरा लेखेर बस्दैन । बरु आफूले पाएको जिम्मेवारीलाई कसरी चाँडो भन्दा चाँडो पुरा गर्ने भनेर काममा तल्लीन हुन्छ । ‘सद्दे मान्छे मर्यादाहिन स्तरमा झर्दैन । निम्न स्तरमा झरेर अरुमाथि सधैं अश्लील टिका टिप्पणी गरिरहने मान्छेलाई उपल्लो जिम्मेवारीको पदमा राखिरहनु भनेको सरकारको बचेखुचेको जे जति इज्यत छ त्यो पनि खिँईदै जान्छ ।’
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८, ०७:२८:३८
प्रतिक्रिया