NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बेरुजु नलेख्ने तीन जनालाई १० लाख घुस, खुशी पार्न घुमफिर र मस्ती

काठमाडौँ । घुसको लेनदेनका आधारमा लेखापरीक्षणमा बेरुजु र असुली लेख्ने लेखापरीक्षण अधिकारीहरुको क्रियाकलापले महालेखाको प्रतिवेदनमाथि नै प्रश्न उठाएको छ ।

सरकारी खर्च अनुशासनको जाँच गर्ने अधिकारीहरुले नै गैरकानूनी रुपमा घुसको मोलमोलाई गरेर त्यसका आधारमा लेखापरीक्षण गर्ने गरेको पाइएकोले महालेखाको प्रतिवेदनको विस्वसनियतामा प्रश्न उठेको हो ।

सरकारी कार्यालयको खर्च अनुशासन जाँच गर्नु र कमजोरी भए सुधार गराउनु, गल्ती गरे कारबाही लेख्नु महालेखाको जिम्मेवारी हो । तर महालेखाका अधिकाशं कर्मचारीहरुले घुस अंकका आधारमा मात्र लेखापरीक्षण गर्ने गरेको पाइएको छ ।

अनियमितता, भ्रष्टाचार भएका कागजपत्र मिलाइदिएवापत घुस लिएर महालेखाबाट लेखापरीक्षण हुने गरेको पाइएको हो । यस्तै घटना भएको छ, धनकुटाका विभिन्न सरकारी कार्यालयको लेखापरीक्षणमा क्रममा । चैत्र २२ गते महालेखाका निर्देशक जयानन्द पाण्डे थप दुई जनाको नेतृत्व गरेर धनकुटा पुगेका थिए ।

उनीहरुले बैशाख १ गतेसम्म जिल्ला समन्वय समितिको गेष्ट हाउसमा बसेर विभिन्न कार्यालयको लेखापरीक्षण गरे । त्यहाँ बसेर विभिन्न सरकारी कार्यालयको लेखापरीक्षण पश्चात उनीहरुले १० लाख रुपैयाँ घुस अंक बुझेका थिए । विभिन्न कार्यालयसँग ५० हजार देखि २ लाखसम्म घुस लिएर १० लाख रुपैयाँ संकलन गरेर उनीहरु फर्किएका थिए ।

तर यसरी लेखापरीक्षणमा जाने कर्मचारीहरुको यातायात, खाजा तथा खाना देखि बसाई लगायत सबै खर्च महालेखा परीक्षकको कार्यालयले व्यहोर्छ । लेखापरीक्षण गर्ने कार्यालयको व्यवस्थापनमा खाजा तथा खानाखाने र बसोबास जस्ता कुनै पनि सुविधा लिनु हुँदैन भन्ने लेखापरीक्षणको न्यूनतम मान्यता हो ।

विभिन्न कार्यालयमा भएका आर्थिक अपचलनको हिसाब मिलाइदिएवापत १० लाख रुपैयाँ घुस बुझेको निर्देशक पाण्डेको टोली घुम्न निस्किएको थियो ।

धनकुटास्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका लेखापाल गजेन्द्र भट्टराईको व्यवस्थापनमा उनीहरुले जिल्लाका गुफा पोखरी, तिनजुरे–मिल्के–जलजले क्षेत्रको घुमफिरमा गएका थिए । त्यसक्रममा भएका खानपान खर्च समेत लेखापाल भट्टराईलाई खर्च गर्न लगाइएको थियो ।

यस्तै लेखापरीक्षणमा महालेखाको उक्त टोलीलाई नेपाली सेनाको बरख गणले हिले र पाख्रीबास क्षेत्र घुमाउने र खानपीन गराएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले भेडेटार, राजारानी क्षेत्र घुमाउने र खानपीन गराएको थियो ।

घुमफिर, मोजमस्ती र १० लाख रुपैयाँ घुस प्राप्त गरेर फर्किएको महालेखाको लेखापरीक्षण टोलीले ती कार्यालयका करोडौ आर्थिक अपचलनका हिसाब मिलान गरिदिएको नेपालवाच स्रोतले दावी गरेको छ ।

लेखापरीक्षण अधीक्षक पाण्डेले धनकुटामा ७ देखि ८ वटा संघ अन्तरगतका कार्यालयको लेखापरीक्षण गरेर फर्किएको बताए ।
उनले त्यसक्रममा केही स्थानमा घुम्न पुगेको स्वीकार गरेका छन् । तर हिसाब मिलाउन आर्थिक लेनदेन गरेको तथ्यलाई अस्वीकार गरेका छन् ।
सम्बन्धित समाचार

सचिव देखि कार्यालय सहयोगीले एकै दिन दोब्बर खाजा र खाना खाए, तर महालेखाले असुल्यो

लेखापरीक्षणमा महालेखाको बार्गेनिङ : पाँच लाख दिए कुरा मिल्छ, नत्र असुली
केपी ओलीले एक बर्षमै भोज भतेरमा सिध्याए राज्यकोषको ४ करोड रुपैयाँ

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८, १४:०८:००