NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

चियाबगानदेखि हाइड्रोसम्म लगानी, ६० रोपनी जमिन : तर, उपचारका लागि सरकारसँग याचना

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १७ असारमा भारतको नयाँदिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गर्‍यो ।

नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको उपचार खर्चका लागि सरकारले हालै ३० लाख रुपैयाँ निकासा गरिसकेको छ ।

आर्थिक हैसियत बलियो भएका खनालको उपचार खर्च सरकारले व्यहोर्ने र रकम नै निकासा भइसकेको विषय यसबेला आलोचित भइरहेको छ ।

राजधानी बाहिरबाट आएका एमाले नेताहरुमध्ये खनाल काठमाडौंमा सबैभन्दा पहिले घर बनाउने नेताभित्र पर्छन् । उनले ०५३ तिरै छाउनीमा घर बनाएका थिए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ५ असारमा खनाललाई त्यहीँबाट फोन गरेर उनको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराए ।

शक्ति र पहुँच भएकाहरुले सामान्य उपचार खर्च पनि राज्यकोषबाट लिने प्रवृत्तिको आमतहमै विरोध हुँदै आएको छ ।

खनालको उपचारमा सरकारले खर्च ब्यहोर्ने देउवाको आश्वासनपछि नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा गराएको उपचार खर्च सरकारले व्यहोर्नु गैरकानुनी भएको टिप्पणी गरिसकेका छन् ।

बरु त्यसका लागि जनस्तरबाट चन्दा उठाउन आफूहरु तयार रहेको थापाको भनाइ छ । जे भए पनि झलनाथ खनालले आफ्नो उपचारका लागि राज्यकोषबाट खर्च लिनु उनको आर्थिक हैसियतका हिसाबले पनि उपयुक्त देखिँदैन ।

खनाल प्रशस्तै जग्गा–जमिन, घर र सम्पत्ति भएका नेता हुन् । गृह जिल्ला इलाम र काठमाडौंमा उनको नाममा जग्गा, घर र चियाबगानदेखि हाइड्रोपावरसम्ममा खनालको लगानी छ ।

२०६७ मा प्रधानमन्त्री भएका बेला खनालले आफू र आफ्नो परिवारका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तर, त्यसयता लामो समयसम्म उनको सम्पत्तिविवरण अद्यावधिक छैन ।

करिब १० वर्षअघि खनालले सार्वजनिक गरेको सम्पत्तिविवरण अनुसार उनको श्रीमति रविलक्ष्मी चित्रकारका नाममा साविक काठमाडौं महानगरपालिका वडा नं. १५ मा ९४४ वर्गफिट अर्थात् २.७५ आनामा बनेको घर छ ।

यो घर ससुरा स्वर्गीय कृष्ण बहादुर चित्रकारबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, खनालकै नाममा इलामको साँखेजुङमा–२३ रोपनी ३ आना, नौ रोपनी चार आना, सात रोपनी १० आना, २१ रोपनी चार आना जग्गा छ । यो जग्गा अंशवापत प्राप्त भएको उनले उल्लेख गरेका छन् ।

त्यस्तै, माधव नेपालको परिवारका नाममा साविक काठमाडौं महानगरपालिकाकोे वडा नं. ३२ मा आठ आना जग्गा छ । यी माधव नेपाल एमालेका पूर्वमहासचिव र हाल वरिष्ठ नेता हुन् ।

नेपाल र खनालबीच जग्गामा किचलो छ । अहिले नेपाल बसिरहेको कोटेश्वरको जग्गामा आफ्नो समेत हिस्सा रहेको खनालले दाबी गर्दै आएका छन् ।

खनालले उक्त जग्गा आफ्नी श्रीमतिको स्वआर्जन रहेको खनालले जनाएका छन् । खााल पत्नी चित्रकारले समय लैनचौरको अस्कल क्याम्पसमा प्राध्यापन गराउँछिन् ।

यसैगरी खनालका भाइ दातारामका नाममा इलामको इलाम नगरपालिकामा सात आना जग्गा छ । पूर्वप्रधानमन्त्री खनालको पत्नीका नाममा चिया बगानदेखि हाइड्रो पावरसम्म लगानी छ । पत्नी चित्रकारका नाममा उनकै स्वआर्जनबाट चिया बगान किनिएको खनालको सम्पत्ति विवरणमा उल्लेख छ ।

चित्रकारको नाममा फुङसेङ चिया बगान प्रालि छ । त्यो बगान तीन लाखमा खरिद गरिएको सम्पत्ति विवरणमा देखिन्छ । त्यस्तै, पत्नीकै नाममा युनिफाइड हाइड्रोपावर र सिक्लेस हाइड्रोपावर छ । युनिफाइड ११ लाख ४० हजार, सिक्लेस आठ लाख ४० हजारमा खरिद गरिएको उनको सम्पत्तिविवरणमा देखिन्छ ।

यसैगरी चलअचल सम्पत्तिका नाममा दाइजोबाट प्राप्त गरगहनालाई पनि उनले सम्पत्ति विवरणमा देखाएका छन् । यस्तो गरगहना अन्दाजी १० तोला छ ।

पत्नी चित्रकारकै नाममा मालिका विकास बैंक लिमिटेडसहित अन्य बैंकमा गरेर एक लाख ८५ हजार हजार आठ सय रुपैयाँ बराबरको एक हजार आठ सय ५० कित्ता सेयर रहेको पनि खनालले त्यसबेला सम्पत्ति विवरणमा खुलाएका छन् ।

तर, बैंक तथा वित्तिय संस्थामा खनालले पेस गरेको मौज्दात रकमको विवरण भने लाजमर्दो छ । खनालको सम्पत्ति विवरणमा उल्लेख भए अनुसार एभरेष्ट बैंक लिमिटेडमा एक सय ६० र बैंक अफ काठमाडौं लिमिटेडमा एक हजार गरेर उनको नाममा बैंकमा मौज्दात एक हजार एक सय ६० रुपैयाँ मात्र देखिन्छ ।

पत्नी चित्रकारका नाममा नेपाल बैंक लिमिटेड (लाजिम्पाट) मा तीन हजार एक सय ६० रुपैयाँ मौज्दात रहेको उनले उल्लेख गरेका छन् । खनालले यो सम्पत्ति विवरण उनी प्रधानमन्त्री हुँदा ६ चैत २०६७ मा सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८, १६:०७:००