सर्लाहीमा १५ स्थानीय तहको अडिट गर्दा ५ जनालाई ५४ लाख घुस
लेखापरीक्षणमा महालेखा अडिटरको आर्थिक गुण्डागर्दी

काठमाडौँ । सरकारी खर्च अनुशासन जाँच गर्ने महालेखाका अडिटरहरुले अधिकारको दुरुपयोग गर्दै सरकारी कार्यालयबाटै खुलेआम घुस असुली बढाएका छन् ।
महालेखाका ५ जना कर्मचारीले लेखापरीक्षणका क्रममा सर्लाहीबाट मात्र ५४ लाख घुस असुल गरेका छन् । त्यो पनि सरकारी कार्यालयको लेखापरीक्षणमा अनुचित खर्चको हिसाब मिलान गरिदिएवापत ।
यसरी महालेखाका अधिकाशं कर्मचारीले लेखापरीक्षणमा जाँदा घुस अंकमा केन्द्रीत हुने गरेको भेटिएको छ ।
नेपालवाचले यस बर्ष लेखापरीक्षणमा जाँदा महालेखाका कर्मचारीहरुले कुन कार्यालयबाट कति घुस लिए भन्ने विवरण सार्वजनिक गर्दै आएको छ।
सरकारी कार्यालयसँगै खुलम खुल्ला घुस असुली गरेर काठमाडौँ फर्किएका महालेखाका अडिटरहरु अन्तिम लेखापरीक्षणको बार्षिक प्रतिवेदन तयार गर्न व्यस्त छन् ।
महालेखाले साउन मसान्तसम्म बार्षिक प्रतिवेदन तयार गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ ।
यस बर्ष सर्लाहीको स्थानीय तहको खर्च जाँच गर्न महालेखाको तर्फबाट गएका ५ जना कर्मचारीले आर्थिक हिनामिना मिलाइदिएवापत ५४ लाख घुस बुझेर काठमाडौँ फर्किएका छन् ।
उनीहरुले नगरपालिकाबाट ५ लाख र गाउँपालिकाबाट २ लाखका दरले घुस बुझेर फर्किएका हुन् । सर्लाहीमा बोधराज अर्याल र कृष्ण पौडेल नेतृत्वमा दुई वटा लेखापरीक्षण टोली खटिएको थियो ।
यो दुई टोलीले स्थानीय तहबाट २ देखि ५ लाखसम्म घुस लिएर लेखा परीक्षण गरेको भेटिएको हो ।
निर्देशक अर्याल नेतृत्वमा तुलाराम पोखरेल र देवीलाल यादव थिए । यो टोलीले बैशाख ३ गतेबाट मलंगवास्थित कुसुम होटलमा बसेर कविलासी नगरपालिका, बसबरिया गाउँपालिका, विष्णु गाउँपालिका, हरिपूर्वा नगरपालिका र मलंगवा नगरपालिकाको लेखापरीक्षण गरेको थियो ।
यस्तै सर्लाहीमै निर्देशक कृष्ण पौडेल नेतृत्वको टोलीले १० वटा स्थानीय तहको लेखापरीक्षण गरेको थियो ।
यि टोलीले लेखापरीक्षण प्रतिवेदनमा आर्थिक अनियमितता भएको खर्च मिलाएर बेरुजु, असुली कम गरिदिएवापत नगरपालिकाबाट ५ लाख र गाउँपालिकाबाट २ लाखका दरले घुस रकम संकलन गरेर फर्किएको हो ।
यस्तै जिल्लामा बस्दाको खानपान र बसोबास खर्च पनि स्थानीय तहलाई व्यहोर्न लगाएको थियो । सर्लाहीमा ८ नगरपालिका र ७ गाउँपालिका छन् ।
यस्तै यस बर्ष निर्देशक राजेन्द्र ओझा सहितको चार जनाको टोली लेखापरीक्षणका लागि उदयपुर पुगेको थियो ।
उदयपुरमा उक्त टोलीले विभिन्न सरकारी कार्यालयको लेखा परीक्षण गरेको थियो । त्यस क्रममा हरेक कार्यालयसँग यो टोलीले घुस संकलन गरेको भेटिएको छ ।
महालेखाको यो टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ स्थित होटल हिमालयमा बसेर बैशाख ३ गतेदेखि ६ गतेसम्म विभिन्न कार्यालयको लेखा परीक्षण गरेको थियो ।
लेखापरीक्षणमा खटिएका कर्मचारीको बसोबास, खानपान लगायतका सबै खर्च महालेखाको कार्यालयमार्फत सरकारले व्यहोर्छ।
तर उनीहरुले उक्त होटलमा बस्दा र खानपानको खर्च प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र बृहत्र जलाधार व्यवस्थापन केन्द्रबाट भरायो ।
यी दुई कार्यालयबाट टोलीले होटलमा २४ हजार ७० रुपैयाँ तिर्न लगाएको थियो । लेखापरीक्षण सकेको दिन सोही होटलमा सम्वन्धित कार्यालयका केही कर्मचारी र महालेखाका कर्मचारीले खानपान सहितको पाटी गरेका थिए ।
बैशाख ६ गते मदिरा तथा खाना खाजा सहितको त्यो पाटीमा खर्च भएको २० हजार ६ सय ९५ रुपैयाँ मालपोत कार्यालयलाई तिर्न लगाएको थियो ।
उनीहरुले ती कार्यालयबाट लेखा परीक्षणमा हिसाब मिलाएवापत हरेक कार्यालयबाट ५० हजारदेखि एक लाखसम्म घुस रकम बुझेका थिए ।
सम्बन्धित समाचार
बेरुजु नलेख्ने तीन जनालाई १० लाख घुस, खुशी पार्न घुमफिर र मस्ती
सचिव देखि कार्यालय सहयोगीले एकै दिन दोब्बर खाजा र खाना खाए, तर महालेखाले असुल्यो
लेखापरीक्षणमा महालेखाको बार्गेनिङ : पाँच लाख दिए कुरा मिल्छ, नत्र असुली
केपी ओलीले एक बर्षमै भोज भतेरमा सिध्याए राज्यकोषको ४ करोड रुपैयाँ
धनुषामा १० लाख घुस खाने कर्मचारी भन्छन्- घुस खानु बाध्यता हो, सचिवसम्म बाँड्नुपर्छ
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८, १२:१५:००
प्रतिक्रिया