NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

उड्दाउड्दै पाइलटको ड्युटी सकियो, रुकुमका यात्रु नेपालगञ्ज पुगे

काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले उडान भर्ने अनुमति पाइसकेको थियो ।

दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए ।

विमानका पाइलट ककपिट छिरेपछि एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।

ट्विन अटर विमानका आठमध्ये एक यात्रुले आफन्तलाई फोन गरे– विमानस्थलबाट प्लेन उड्नै लाग्यो । सल्ले आउँदै गर्नुहोला ।’

प्लेनले निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्यो । अनि आकाशमा एक फन्का मारेर गन्तव्य सोझ्यायो ।

यात्रुलाई लागेको थियो– प्लेन केही समयमा नै सल्ले विमानस्थलमा अवतरण होला र आफन्त भेटिएलान् । तर त्यसो भएन । बीच बाटोमै नेपालगञ्ज विमानस्थलमा प्लेन अवतरण भयो ।

धेरैलाई लाग्न सक्छ– जहाजमा कुनै प्राविधिक समस्या आएकाले पाइलटले नेपालगञ्जमा आकस्मिक अवतरण गरे होलान् । तर प्राविधिक समस्याले नभई पाइलटको सनकका कारण यस्तो अनौठो घटना भएको हो । कारण रोचक छ– पाइलटको ड्युटी सकिनु ।

पाइलट पेम्बा शेर्पाको ड्युटी सोमबार बिहान ५ः३० मा सुरु भएको थियो । उनको नियमित ड्युटी ४ बजेसम्म हो । उक्त समयमा विमान नेपालगञ्जको आकाशमाथि पुगेको थियो । त्यसैबेला उनले ड्युटी सकिएको भन्दै जहाज त्यहीँको विमानस्थलमा ल्यान्ड गराए ।

‘कति छिट्टै रूकुम आइपुगिएछ भन्ने ठानेको त ड्युटी सकियो भनेर नेपालगञ्जमा झारिएको रहेछ,’ एक यात्रुले गुनासो गरे, ‘यो गैरजिम्मेवारीको पराकाष्ठा हो । यसैगरी, बिरामीको अपरेसन गरेका चिकित्सकले काम छाडे के होला ?’

शेर्पा चार वर्षअघि नेपाल एयरलाइन्समा अनुबन्ध भएका पाइलट हुन् । यसअघि उनले तारा एयरमा काम गरेका थिए ।

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्ना पाइलटले ड्युटी सकिएको भन्दै रूकुम जानुपर्ने जहाज नेपालगञ्जमा सोमबार अवतरण गरेको स्वीकारे । उनी भन्छन्, ‘रूकुम जानुपर्ने विमान ड्युटी सकिएको भन्दै पाइलटले नेपालगञ्ज अवतरण गरेको साँचो हो । यसबारे बुझ्दै छु ।’

पाइलटले यात्रुलाई गन्तव्यमा नपु-याएपछि उनीहरूलाई नेपालगञ्जकै होटलमा बस्ने व्यवस्था गरिएको अध्यक्ष अधिकारीले नेपालवाचलाई बताए ।

निगम स्रोतका अुनसार, पाइलटका सनकका कारण अलपत्र यात्रुलाई मंगलबार बिहान नेपालगञ्जबाट रुकुम पु-याइएको छ ।

(भूलसुधार: उल्लेखित समाचार तयार गर्दा स्रोतले दिएको जानकारी पुष्टि गर्ने क्रममा भएको असावधानीका कारण सल्ले विमानस्थलको सट्टा चौरजहारी विमानस्थल भएकोमा पाठकसँग क्षमा माग्दै सच्याइएको छ ।– सं.)

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८, ०८:२०:००