खुफियाको पक्षपात : ओली र एमालेमाथि मसिनो निगरानी, कांग्रेसप्रति मौन

रिपोर्टिङ एक
नेकपा (एमाले) ले हालै सम्पन्न राष्ट्रिय महाधिवेशनपश्चात आगामी तीनै तहका निर्वाचनबाट पार्टीलाई पहिलो बनाएर सत्तारोहण गर्ने महत्त्वकांक्षासहित तल्लो तहसम्म एकताको सन्देश प्रवाह गर्ने, पार्टी र जनवर्गीय संगठनहरूको भेला, प्रशिक्षण, सभा, सम्मेलन एवं पार्टी प्रवेशलगायतका सांगठनिक गतिविधि गरिरहेको छ । यसैक्रममा हिजो दिउँसो कपिलवस्तुको कृष्णनगर नगरपालिका–८, बहादुरजंगमा केपी ओली, केन्द्रीय महासचिवलगायत उपस्थितिमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरियो ।
०००
रिपोर्टिङ दुई
आज दिउँसो ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष थममाया थापा, सचिव सुजिता शाक्य, सो पार्टीका जनवर्गीय कमिटीका संयोजक भानुभक्त ढकाल, केन्द्रीय सदस्य सुशील नेपालसहित ६०-७० जनाको सहभागितामा संघको सचिवालय बैठक बस्यो र फागुन मसान्तसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय ग¥यो ।
०००
झट्ट पढ्दा माथिका दुई सन्दर्भ एमालेको कुनै नेता–कार्यकर्ताको टिपोटजस्तो लाग्छ । तर यी विवरण एमाले नेता–कार्यकर्ताको डायरीको टिपोट नभएर खुफिया एजेन्सीद्वारा सरकारलाई बुझाइएका रिपोर्टका अंश हुन् ।
राष्ट्रिय अनुसन्धान विभागसँगै नेपाल सरकारका विभिन्न खुफिया एजेन्सीले हरेक दिन सरकारलाई रिपोर्ट पेश गर्छन् । मुलुकमा भइरहेका घटना र कामबारे निगरानी राख्दा सबै कोणबाट राज्यलाई सूचना सम्प्रेषण हुनुपर्ने हो । सरकारी खुफिया एजेन्सीका पछिल्ला गतिविधि पक्षपातपूर्ण देखिन्छ । केही नेतामा मसिनो निगरानी गरेको खुफिया सत्तारुढ दल र तिनका नेतामाथि मौन छ भने विपक्षीप्रति अनुदार । एक वर्षअघि मात्रै मूलधारको राजनीतिमा आएको विप्लव समूहकै हाराहारीमा देशकै सबैभन्दा ठूलो दल एमालेको चियोचर्चा गरिएको छ ।
गत असार २७ को सर्वोच्च अदालतको परमादेशपछि सत्ताबाट बाहिरिएका ओलीलाई खुफियाले निकै नजिकबाट पछ्याएर उनका गतिविधिबारे सरकारलाई रिपोर्टिङ गरिरहेको छ ।
देशका सबै पार्टी र तिनका गतिविधिमाथि निगरानी राख्दा सत्तासीन नेपाली कांग्रेसबारे भने खुफियाले रिपोर्टिङ गरेको छैन । सत्तारूढ कांग्रेसको गतिविधिबारे मौन खुफियाले सरकारप्रति आग्रह र एमालेप्रति पूर्वाग्रह साँधेको यति प्रष्टै देखिन्छ कि दुर्गा प्रसाईंले बोलेका फाल्तु कुराबारे समेत रिपोर्टिङ गर्न भ्याएको छ ।
खुफियाले गत ५ पुसमा देशका पाँच राजनीतिक गतिविधिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई रिपोर्टिङ गरेको छ । जसको पहिलो नम्बरमा सो दिनको एमाले गतिविधि परेको छ । ‘नेकपा (एमाले) संगठन विस्तारमा क्रियाशील’ शीर्षक सारांशमा कपिवस्तुमा ओलीले विभिन्न पार्टीकालाई प्रवेश गराउँदै देशको विकास र समृद्धि गर्ने क्षमता भएको एक मात्र दल एमाले भनेर व्यक्त गरेको भनाइ समेटेको छ । यति मात्रै होइन, सोही दिन लतिलपुरको च्यासलस्थित तुलसी स्मृति प्रतिष्ठानमा सो पार्टीनिकट अखिल नेपाल महिला संघको बैठक बसी ७ औं राष्ट्रिय सम्मेलन फागुन मसान्तसम्ममा गर्ने भनेर गरेको निर्णय पनि खुफियाको रिपोर्टमा प्राथमिकतापूर्वक समेटिएको छ ।
खुफियाले सो दिन एमालेपछि क्रमशः विप्लव, सिके राउत र मंगोल नेसनल अर्गनाइजेसनको गतिविधिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराएको छ । मंगल अर्गनाइजेसन हिन्दूधर्मालम्बीको चाडपर्व बहिस्कार गर्नुपर्नेलगायत सवाल उठाएर गतिविधिरत छ ।
त्यसको ८ दिनपछिको खुफियाको अर्को रिपोर्टलाई नै हेरौं । सो दिनको रिपोर्टको सांरशमा चार विषय परेका छन् । जसमा सर्लाहीमा सवारी दुर्घटनामा मृत्यु भएको विषयले तनाव पुगेको, जनमत पार्टीले सिरहामा प्रदर्शन गरेको, विप्लवले संगठनात्मक गतिविधिलाई निरन्तरता दिएकोसँगै एमालेले आगामी निर्वाचन लक्षित सांगठनिक गतिविधिलाई तीव्रता दिएको विषय समेटिएको छ ।
सो दिनको एमालेबारेको खुफियाको रिपोर्टिङमा आगामी निर्वाचनबाट सत्तारोहण गर्ने महत्त्वकांक्षासहित गतिविधि सञ्चालन गरिएको ठहरसम्म गर्न भ्याइएको छ ।
खुफियाले पुस महिनामा तयार पारिएका कुनै पनि दिनको रिपोर्ट यस्तो छैन, जसमा एमालेबारे रिपोर्टिङ नगरिएको होस् ।
ठाउँठाउँमा त खुफिया कुरौटे शैलीमा प्रस्तुत भएको छ । ०७८ पुस १३ को रिपोर्ट नै हेरौं । सो दिन पोखरास्थित पृथ्वीनारायण क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उक्त कार्यक्रममा उनले ‘सरकारले झ्याल–झ्यालमा मन्त्रालय र टोल–टोलमा मन्त्री उत्पादन गरेर राज्य कोषको दोहन गरेको, गैरसांसदलाई कारबाही नगरेर सभामुखले पदीय मर्यादाविपरीत कार्य गरेकोलगायत विषय उठाएर भाषण गरेका थिए । यसमा खुफियाले रिपोर्टिङ नै गर्नुपर्ने नयाँ कुनै विषय छैनन् । तर खुफियाले यति मामुली भाषण जस्ताको तस्तै सरकारलाई लगाएको छ ।
सत्तारूढ कांग्रेसको गतिविधिबारे मौन खुफियाले सरकारप्रति आग्रह र एमालेप्रति पूर्वाग्रह साँधेको यति प्रष्टै देखिन्छ कि दुर्गा प्रसाईंले बोलेका फाल्तु कुराबारे समेत रिपोर्टिङ गर्न भ्याएको छ । ‘दुर्गा प्रसाईंले नेपाली कांग्रेसले ०४६ सालमा सबै कलकारखाना बेच्यो, अब गोविन्द केसी र प्रधानमन्त्रीबीच भएको सम्झौताका कारण बाँकी भएका मेडिकल कलेज र बैंक पनि सकिन्छन्, युरोप, अमेरिकामा रहेका माओवादी नेताका छोराछोरीका कारण देशमा लिक्विडिटी बढेकाले आगामी चुनावबाट एमालेको सरकार बनेपश्चात यी समस्याको समाधान हुन्छ’ भनेका छन्,’ राज्यलाई बुझाइएको खुफिया रिपोर्टको सारमा भनिएको छ ।
एमालेको आक्रामक सांगठनिक विस्तारलाई पहिलो पार्टी हुने कसरतका रूपमा व्याख्या गर्दै यसैको वरिपरि खुफिया एजेन्सी घुमिरहेको देखिन्छ ।
विप्लव र सिकेमाथि पनि उत्तिकै निगरानी
एमाले मात्रै होइन, एक वर्षअघि शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द्र ‘विप्लव’ र सोही हाराहारीमा विखण्डनको बाटो छाडेको सिके राउतलाई पनि सरकारी खुफिया एजेन्सीले एमाले, त्यसका नेता केपी ओलीलाई जस्तै गरी पिछा गरेको छ । यी पार्टीले गरेका कार्यक्रमदेखि तिनका नेताले दिएको अभिव्यक्तिसम्मलाई खुफियाले जस्ताको तस्तै उतारेर सरकारलाई बुझाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको दुष्प्रचार गरेर आगामी चुनावलक्षित गतिविधि बढाएको रिपोर्ट पनि खुफियाले सरकारलाई दिएको छ । राप्रपाबाट सत्तारूढ दललाई नोक्सानी हुने सन्देहमा रहेको खुफियाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कुन ठाउँमा पुगेर कस्तो भाषण गरे भन्ने विषयलाई महत्त्वका साथ आफ्ना रिपोर्टमा समेटेर सरकारलाई सुसूचित गराएको छ ।
किसान आन्दोलनका नाममा सिके राउत नेतृत्वको जनमत पार्टीका गतिविधिबारे पनि राज्यलाई मिहीन ढंगले रिपोर्टिङ गरिएको छ । गत १५ पुसदेखि किसान हक–हितको माग राख्दै यो पार्टीले तराई–मधेस क्षेत्रमा अनिश्चितकालीन पूर्व–पश्चिम राजमार्ग बन्दलगायत कार्यक्रम गरेको थियो । सो क्रममा सवारी साधन तोडफोडलगायत उच्छृंखल गतिविधि भएका थिए ।
खुफियाले सो पार्टीका सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, नवलपरासी र बाँके कमिटीले गरेका गतिविधिबारे सूचना संकलन गरेर सिंहदरबारमा बुझाएको छ ।
हिन्दूराष्ट्र तथा राजसंस्था पक्षधरहरू पनि खुफियाको नजरमा बाक्लो परेका छन् । हिन्दूराष्ट्रसहितको राजतन्त्र स्थापनाको माग गर्दै क्रियाशील विभिन्न हिन्दूवादी संघ–संस्थाहरूले दिवंगत तत्कालीन राजा वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसरमा सुनसरी, धनुषा, कपिलवस्तु, बाँकेलगायत जिल्लामा गरेको गतिविधिदेखि पूर्वयुवराज पारसको जन्मोत्सवको अवसरमा काठमाडौंको वसन्तपुर र पर्साको वीरगञ्जमा गरिएको प्रदर्शनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बेलिविस्तार लगाइएको छ । एमसिसी खारेजीकोे विषयमा भएका हरेक प्रदर्शन र त्यसमा देखिएको संस्थागत आबद्धताबारे पनि खुफियाले जानकारी गराएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८, १९:२९:००
प्रतिक्रिया