NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ओलीविरुद्ध समाजवादी मोर्चा गठनको दौडधुपमा बाबुराम

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वमाओवादी पार्टीहरुदेखि अन्य राजनीतिक दलहरुबीचको ध्रुबीकरणका लागि छलफल अघि बढाएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अस्ति ९ भदौमा मात्र निर्वाचन आयोगबाट बैधानिकता पाएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट गरेर भट्टराईले दलहरुबीच धुब्रीकरण गर्न पहल अघि बढाएका हुन् । भट्टराईको प्रस्तावमा प्रचण्ड, नेपाल, उपेन्द्र यादवलगायत नेताहरु सकरात्मक भएको माओवादी केन्द्रका एक नेताले नेपालवाचलाई बताएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘प्रवृति’विरुद्ध लडन भट्टराई, उपेन्द्र यादव, प्रचण्ड, माधव नेपालहरु आउँदो निर्वाचनअघि नै समाजवादी केन्द्र गठन गर्न सहमत भएका ती नेताको भनाइ छ ।

यद्यपि, प्रस्तावले मुर्तरुप भने लिइसकेको छैन । ओली नेतृत्वको एमालेलाई आगामी निर्वाचनमा एक्ल्याउने रणनीतिअनुसार भट्टराई, यादव, प्रचण्ड र नेपाल समाजवादी केन्द्र गठनका लागि सहमत भएका हुन् । ओलीले आउँदो निर्वाचनमा एमाले पुनः पहिलो शक्ति भएर आउने उद्घोष गरिरहेका छन् । ओलीको यही उद्घोष पूरा हुन नदिन उनी इतरका शक्तिहरु एकै ठाउँमा उभिने तयारी गरेका हुन् ।

ती नेताका अनुसार प्रचण्ड, नेपाल र भट्टराईबीच तीन चरणको ध्रुवीकरण गर्ने सहमति भएको छ । पहिलो, पूर्वमाओवादीहरुबीच एकीकरण । दोस्रो, वामपन्थीहरुबीच एकीकरण । तेस्रो, लोकतान्त्रिक शक्तिहरुसँग एकीकरण ।

उनका भनाइमा पूर्वमाओवादीहरुबीचको एकीकरण प्रक्रियालाई अघि बढाउने विषयमा भट्टराईले मोहन वैद्य ‘किरण’सँग पनि भेटघाट गरी छलफल गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, प्रचण्डले मोर्चाबन्दीको मोटामोटी खाका तयार भएपछि मात्र किरणसँग छलफल गरौं भनेका थिए । प्रचण्डको उक्त सुझावमा भट्टराई सहमत भएका ती नेता बताउँछन् ।

पूर्वप्रधानमन्त्री भट्टराईका पूर्वस्वकीय सचिव एवं जसपाकाका नेता विश्वदीप पाण्डेका अनुसार आगामी निर्वाचनअघि भट्टराई, प्रचण्ड र नेपालबीच पार्टी एकीकरण हुने संभावना भने छैन । किनभने, प्रचण्ड र माधव नेपाल कम्युनिस्ट छाड्न नसक्ने अवस्थामा छन् । शब्दमै सही, उनीहरु कम्युनिस्ट शब्द छाडे ओलीलाई फाइदा पुग्छ भन्ने बुझाइमा छन् । यता, भट्टराई र उपेन्द्र यादव कम्युनिस्ट सिद्धान्तमा फर्केर फेरि माओवादी हुने पक्षमा छैनन् । २१ औं शताब्दीसँग तालमेल हुने पार्टी बनाउनुपर्छ भन्ने उनीहरुको मान्यता छ ।

‘यी दुवैको बीचको बाटो निर्वाचनअघि कम्युनिस्ट पनि, गैरकम्युनिस्ट पनि अट्ने एउटा समाजवादी केन्द्र बनाउने, त्यही समाजवादी गठबन्धनबाट चुनावी मोर्चा बनाएर सबै समाजवादीहरु एकै ठाउँमा उभिने भनेर डा. भट्टराईले प्रचण्ड, माधव नेपाल सबैलाई प्रस्ताव गरिसक्नुभएको छ’, पाण्डे भन्छन्, ‘भट्टराईको प्रस्तावमा योभन्दा अरु विकल्प छैन भनेर सबै सकरात्मक नै हु्नुहुन्छ । तर, प्रस्ताव लिखित दस्तावेज बनाउने तहमा पुगिसकेको छैन ।’

आफ्नै पार्टीभित्रको किचलो, मन्त्रिपरिषद् विस्तारजस्ता कुरामा अलमलिनु परेकाले छलफल अघिबढ्न विलम्ब भइरहेको पाण्डे बताउँछन् । थप्छन्, ‘मन्त्रिपरिषद् विस्तारपछि सबै एउटा सेटमा आइसकेपछि प्रस्तावले मुर्तरुप लेला ।’
पूर्वमाओवादीहरुको ध्रुवीकरणका लागि प्रचण्डले माओवादी केन्द्रका तर्फबाट पूर्वसभामुख कृष्णबहादुर महरालाई परिचालन गरिरहेका छन् ।

महराले मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, गोपाल किरातीलगायत गुट–गुपगुटमा विभाजित नेताहरुलाई भेटेर ध्रुवीकरणका लागि पहल गरिरहेका छन् । केपी ओली प्रधानमन्त्रीबाट हटेर शेरबहादुर देउवाको सरकार गठन भएलगत्तै प्रचण्ड र विप्लवबीच भेट भएको थियो । त्यो भेटमा पनि उनीहरुले ध्रुवीकरणको संभावनाबारे छलफल गरेका थिए ।

माओवादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार प्रचण्ड, भट्टराई, यादव र नेपालहरु संभव भए दशैंअघि नै समाजवादी केन्द्र गठन गरिसक्ने तयारीमा जुटेका छन् ।

‘ओली प्रवृतिविरुद्ध सडक संघर्ष गरेका दलहरु समाजवादी केन्द्र गठन गर्ने घनिभूत छलफलमा छन्’, नाम उल्लेख नगर्न आग्रह गर्दै ती केन्द्रीय सदस्य भन्छन्, ‘त्यसले छिट्टै नै मुर्तरुप लिन्छ ।’

 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८, १४:२८:००