NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते
कांग्रेस

देउवाले विश्वप्रकाश छोडे, गगन रोजे !

काठमाडौं । १३ औं महाधिवेशनपछि पार्टी प्रवक्तामा गगन थापालाई अघि सार्ने अन्तिम तयारीलाई उल्ट्याउँदै सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा विश्वप्रकाश शर्मालाई रोजेका थिए । उनै शर्मा १४ औं महाधिवेशनसम्म देउवाकै विश्वासपात्र नेताका रुपमा काम गर्न सफल भएका थिए ।

तर १४ औं महाधिवेशनमा देउवा टिमबाट महामन्त्रीको उम्मेदवार बन्न असफल भएपछि शर्मा क्याम्प परिवर्तन गर्दै प्रकाशमान सिंहको तर्फबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर कमजोर टिमबाट उम्मेदवार बनेर पनि शर्माले महामन्त्रीमा जितेर आफू बलियो नेता भएको सन्देश दिएका थिए ।

आफूले नसमेटीकन पनि शर्मा महामन्त्रीमा विजयी भएपछि देउवाले पुनः आफ्नै टिमको महामन्त्रीमा विश्वास गरेर जान सक्ने चर्चा पनि चलेको थियो । किनकि, देउवाका महामन्त्रीका दुवै उम्मेदवार डा. प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका थिए ।

दुवै पराजित भएपछि देउवाले एक महामन्त्रीको रूपमा एक कार्यकालभरी सहयोग गरेका शर्मालाई पनि सचिवालयको काम लगाउने अपेक्षा गरिएको थियो ।

१४ औं महाधिवेशनपछि केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दाको बैठकबाट भने सभापति शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई छोडेर गगन थापालाई रोज्ने सन्देश प्रवाह गरेका छन् ।

तर १४ औं महाधिवेशनपछि केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दाको बैठकबाट भने देउवाले शर्मालाई छोडेर गगन थापालाई रोज्ने सन्देश प्रवाह गरेका छन् ।

भर्चुअल रुपमा बैठक गरिए पनि सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा केन्द्रीय कार्यालयबाटै सहभागी भएका थिए । कार्यसम्पादन समिति गठनको मात्रै एजेण्डा भएको निक्कै छोटो बैठकमा सभापति देउवाले कार्यसम्पादन समितिको गठनसम्बन्धी प्रस्ताव पेश गर्न महामन्त्री थापालाई निर्देशन दिएका थिए ।

छोटो बोल्दै देउवाले कोभिडको कारण भर्चुअल बैठक गर्नुपरेको भन्दै थापालाई कार्यसम्पादन समिति गठनको प्रस्ताव पेश गर्न निर्देशन दिएका थिए । अरु केन्द्रीय सदस्य जुममार्फत बैठकमा जोडिएका थिए । जसमा थापाले पदाधिकारी नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (१) बमोजिम कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी केन्द्रीय कार्यसमितिका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ्ग, महामन्त्री थापा, महामन्त्री शर्मा, सहमहामन्त्रीहरूः– फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्गदेम्वे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रि पाण्डे र जीवन परियार पदेन रुपमै कार्यसम्पादन समितिमा रहेकोे भन्दै पहिलो बुँदा पेश गरे ।

लगत्तै सभापतिको प्रस्ताव बमोजिम– नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ्ग लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानालाई कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा अनुमोदनको लागि प्रस्तुत गरेका थिए ।

सभापतिको निर्देशन अनुसार थापाले दुई बुँदे प्रस्ताव पेश गर्दै पारितका लागि सदस्यलाई आग्रह गरेपछि भर्चुअल रूपमा जोडिएका सदस्यले हात उठाएर सहमति दिएका थिए । त्यसपछि छोटो बैठक सकिएको थियो ।

तर छोटो बैठकबाटै देउवाले अब सचिवालयको कामको जिम्मा महामन्त्री थापालाई लगाउने प्रष्टै संकेत दिएका हुन् ।

डा. शेखर कोइरालाको पक्षबाट राम्रो मतसहित थापा महामन्त्रीमा जित्न पुगेका थिए । तर कमजोर समूहबाटै उठे पनि सबै पक्षको सहयोग पाएपछि शर्मा पनि जित्न पुगे ।

तर, महाधिवेशनपछि वरीयतामा पनि थापालाई अगाडि राखेका देउवाले शर्मालाई अब प्राथमिकतामा नराख्ने संकेत गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १९:१७:००