मरिससविरुद्धको खेलबारे नेपाली कप्तान : अफ्रिकी टोलीसँगको खेलले नयाँ अनुभव मिल्नेछ

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरणले मैत्रीपूर्ण खेल भए पनि आफ्नो टोलीले जीतकै लागि खेल्ने बताए ।
दुई मैत्रीपूर्ण खेलबाट केही नयाँ कुरा सिक्ने र अफ्रिकी मुलुकविरुद्ध खेल्दा छुट्टै अनुभव हुने उनको भनाइ छ ।
‘हामी इतिहासमै पहिलो पटक अफ्रिकी मुलुकसँग खेल्दैछौँ, हाम्रो लागि यो छुट्टै अनुभव हुनेछ’, किरणले भने, ‘नेपालले अफ्रिकन राष्ट्र मरिसससँग पहिलोपटक दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले मरिसस विरुद्धको पहिलो मैत्रिपूर्ण खेल शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल्नेछ ।
त्यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालले सबै तयारी पूरा गरिसकेको जानकारी दिएका छन् ।
नेपालले पहिलाको गल्तीलाई सुधारेर प्रदर्शन गर्ने उनले बताए । मरिससका प्रशिक्षक टोनी फ्राँस्वाले धेरैपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको भन्दै नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने बताए ।
नेपाली टोलीमा किरणकुमार लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यू ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिशरत्न छुन्जु र जगजीत श्रेष्ठ रहेका छन् ।
नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल भने मङ्गलबार हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १७:५५:००
प्रतिक्रिया