नेपाल–कोरियामैत्री अस्पताल र रामेछापको गोकुलगंगा अस्पतालबीच सम्झौता
पुष्कर खड्का/रामेछाप । भक्तपुरको नेपाल–कोरियामैत्री अस्पताल र रामेछापको गोकुलगंगा अस्पतालबीच सम्झौता भएको छ।
मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताल र गोकुलगंगा गाउँपालिकामा रहेको गोकुलगंगा अस्पतालबीच अस्पतालको क्षमता विकासमा सहकार्यका लागि शुक्रबार सम्झौता भएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी दिए ।
भक्तपुरको कोरिया मैत्री अस्पतालले गोकुलगंगा अस्पतालका कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि आवश्यक सहयोग गर्ने, गोकुलगंगा अस्पतालको समन्वयमा कोरिया मैत्री अस्पतालले गोकुलगंगा गाउँपालिकाभित्र आवश्यक स्वास्थ्य शिविर राख्ने, कोरिया मैत्री अस्पतालले गोकुलगंगा अस्पताललाई टेलीकन्सल्टेशन मार्फत आवश्यक स्वास्थ्य परामर्श गराउने, गोकुलगंगा अस्पतालको सिफारिसमा कोरिया मैत्री अस्पतालले गोकुलगंगा गाउँपालिकाका बिरामीलाई निश्चित शुल्कमा छुट गर्ने सम्झौता भएको सुनुवारले बताए ।
दुई अस्पतालबीचको उक्त सम्झौता पत्रमा मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले हस्ताक्षर गरेका छन् ।
उनले भने, ‘मध्यपुर थिमी नगरपालिकाले सञ्चालन गरेको नगरपालिका कोरिया मैत्री अस्पतालसँग गोकुलगंगा अस्पतालको भगिनी सम्बन्ध जोड्नुले गोकुलगंगाका जनतामा स्वास्थ्यको पहुँच बढेको र कोरिया मैत्री अस्पतालसँगको सम्झौताले पालिका र नगरपालिकालाई नजिक बनाएको छ ।’
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १९:३४:००
प्रतिक्रिया