गर्भवतीले ध्यान पुर्याउनैपर्ने विषय

महिलाको पाठेघरमा सन्तानको भ्रूणको रूप रहेको अवस्थालाई अर्भावस्था भनिन्छ । सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ । गर्भावस्थाको समय अति नै संवेदलशील हुन्छ । यसर्थ, यो वेला गर्भवतीले नियमित रूपमा चिकित्सकलाई चेकजाँच गराउनुपर्छ ।
गर्भावस्थाका मुख्य लक्षण
- समयमा महिनावारी नहुने ।
- थकाइ लाग्ने वा जिउ गल्ने ।
- शरीरमा ज्वरो आएजस्तो लाग्ने ।
- कुनै खानेकुरा धेरै खान मन लाग्ने वा खानै मन नलाग्ने ।
- बारम्बार पिसाब लाग्ने ।
- स्तन गानिएर आउने, ठूलो हुने ।
- ढाड (तल्लो भाग ) दुख्ने ।
- गर्भ रहेपछि हल्का रक्तश्राव हुने ।
- टाउको दुख्ने ।
- दिक्क लाग्ने वा तनाब हुने ।
- बिहान उठ्नेबित्तिकै बिरामी हुने ।
शारीरिक परिवर्तन
– पहिलो १२ हप्ता : खाना अमन हुने, वाकवाकी लाग्ने, स्तन दुख्ने तथा भारी हुने ।
– १३–२८ हप्ता : वाकवाकी लाग्न हराउने, छालाको रङ परिवर्तन हुने, मुखमा चाया–पोतो आउने, पेट बढेको देखिने, पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुने, पहिलोपटक गर्भवती भएमा महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशु चलेको चाल पाउन थाल्छन् ।
– २८ देखि ४० हप्ता : पाठेघरको आकार बढ्दै जानाले पेट अझ बढ्दै जाने, बढ्दै गरेको पाठेघरले पिसाबथैली थिच्ने हुनाले पटक–पटक पिसाब लाग्ने, ढाड दुख्ने, आठौँ महिनामा घरीघरी पाठेघर खुम्चिने र पेट दुख्ने, नवौँ महिनामा बढेको पाठेघरले पेटमा, मुटुमा र फोक्सोमा दबाब दिने कारणले सास फेर्न गाह्रो हुने तथा थोरै खाना खाँदा पनि पेट भरिएर अप्ठ्यारो हुने ।
असाधारण लक्षण
- ज्वरो आउने ।
- योनीबाट अकस्मात् रगत वा तरल पदार्थ बग्ने ।
- पिसाब पोल्ने, पिसाब फेर्न गाह्रो हुने, पखाला लाग्ने, निरन्तर बान्ता हुने ।
- पेट दुख्ने र टाउको दुख्ने ।
- आँखा धमिलो हुने, रक्तचाप १३०-९० भन्दा माथि हुने ।
- अत्यधिक तौल बढ्ने अथवा तौल बढ्दै नबढ्ने ।
- खुट्टा अत्यधिक सुन्निने, पैताला, हत्केला र शरीर चिलाउने ।
प्रसूतिपूर्व अपनाउनुपर्ने सावधानी
– गर्भावस्थामा प्रोटिन, आइरन, क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । सक्खरखण्ड, हरियो ताजा सागपात, भटमास, गेडागुडी, गाजर, ब्रोकाउली, काउलीको तरकारी खानुपर्छ । गर्भावस्थाको समयमा स्वास्थ्यसम्बन्धी केही पनि समस्या देखिएमा अविलम्ब नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क राख्नुपर्छ । अब जानौँ अपनाउनुपर्ने सावधानी ।
- सफा रहने र सधैँ नुहाउने ।
- पौष्टिक खाना खाने ।
- हलुका, खुकुलो र आरामदायी कपडा लगाउने ।
- ठूलो हिल भएको जुत्ता–चप्पल नलगाउने ।
- तनावयुक्त काम नगर्ने, आराम गर्ने ।
- चिल्लो, पिरो, अमिलो आदि नखाने ।
- ९ महिना लागेपछि दिनको १० घन्टासम्म आराम गर्ने ।
- राति ८ घन्टा सुत्ने तथा दिनमा २ घन्टा बायाँ कोल्टे परेर पल्टिने ।
- कब्जियत कम गर्न धेरै मात्रामा पानी पिउने ।
- हरियो सागसब्जी खाने र दूध पिउने ।
- जाँड, रक्सी तथा चुरोट नपिउने ।
- विशेषगरी, पहिलो तीन महिना र अन्तिमको डेढ महिनामा सकेसम्म लामो यात्रा नगर्ने ।
- मोटरसाइकल-स्कुटर नचलाउने ।
- शारीरिक सम्पर्क नराख्ने ।
- चिकित्सकको सल्लाहविना जथाभावी औषधि नखाने र प्रयोग नगर्ने ।
- धनुष्टंकारको सुई लगाउने ।
(स्त्री तथा प्रशुतिरोग विशेषज्ञसँगको कुराकानीमा आधारित)
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १९:४९:००
प्रतिक्रिया