जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी

काठमाडौं । बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । उक्त निर्देशिका २०७९ साउन १ गतेदेखि लागू हुने गरी जारी गरिएको समितिले जनाएको छ ।
बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमा कम्पनीहरूमा आइपर्ने जोखिम तथा त्यसको प्रतिकार्य स्वरूप उनीहरुबाट भएका कार्यको मूल्याङ्कन गर्न वान्छनीय भएकोले यो निर्देशिका जारी गरिएको समितिले जनाएको छ ।
समितिले बीमा ऐन २०४९ को दफा ८ (घ)(२) ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरेको हो । यस निर्देशिकाको दफा ३ ले बीमकहरूको लागि जलवायु जोखिम प्रकाशनसम्बन्धी व्यवस्था गरिएको छ ।
निर्देशिका १ मा बीमकले जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाई अनुसूची–१ बमोजिमको विवरण आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ ।
त्यस्तै निर्देशिकाको उपदफा २ मा उपदफा (१) बमोजिमको विवरण कुनै कारणले प्रकाशन नगरेमा बीमकले सोसम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गरेको छ वा छैन वा जलवायु जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाको कारण स्पष्ट खुलाउनुपर्नेछ ।
बीमकले जलवायु जोखिमको प्रभाव सम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत प्रकाशित गरी त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना ग्राहकवर्गलाई सुझाव दिनुपर्नेछ ।
बीमा समितिले यस निर्देशनको उपदफा (१) बमोजिमको विवरण सम्बन्धमा वार्षिक प्रतिवेदनमा समावेश गरिनुपर्ने थप विषयहरु आवश्यकता अनुसार तोक्न सक्नेछ ।
प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८, १६:४९:००
प्रतिक्रिया