NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ९ गते

प्रचण्डजी ! संविधान बचाउनुभयो अब सिंगो माओवादी पार्टी बनाउनुस्

केदारनाथ नेपाल (निश्चल)

काठमाडौं । २००७ सालदेखिको जनप्रतिनिधिमार्फत संविधान बनाउने जनताको चाहनालाई २०५२ सालबाट जनयुद्धको थालनी गरेको माओवादीले २२ वर्षको अवधिमा पूरा गरिदियो । त्यसमा एक किसिमको जोखिम प्रचण्डको नेतृत्वमा तत्कालीन नेकपा–माओवादीका नेताहरूले लिए ।

अन्य दलले पाँच दशकमा पनि गर्न नसकेको काम माओवादीले २ दशकमै पूरा गरिदियो । प्रचण्डको त्याग, साहस तपस्या र १७ हजार सहिदको बलिदानीबाट संविधानसभाको जन्म भयो । दुःखद विषय, पहिलो संविधानसभाले जनतालाई संविधान दिन सकेन ।

माओवादीको नेतृत्वमा सरकार रहँदैगर्दा संविधानसभाको अवसान हुनपुग्नु स्वयम् माओवादीको लागि दुःखद थियो भने माओवादीप्रति जनताको अविश्वासको सुरुवात बिन्दुको थालनी हुनपुग्यो । त्यसै कारण दोस्रो संविधानसभाको चुनावमा माओवादीलाई जनताले तेस्रो शक्तिको हैसियतमा झारिदिए ।

जनताले सुम्पिएको जिम्मेवारी बहन नगर्दाको सजाय माओवादीलाई चुनावमार्फत दिए । तर, पनि जनताको कारबाहीका बाबजुद प्रचण्डले देश र जनताप्रति आफूले गर्नुपर्ने योगदान बिर्सिएनन् ।

जनमतको कदर गर्दै संसद्को तेस्रो शक्तिको दलको नेतृत्वकर्ताको हैसियतमै रहेर भए पनि संविधानसभाबाट संविधान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरी संविधान बनाएरै छाडे । संविधान निर्माणलाई कांग्रेस–एमालेले सत्तासँग बार्गेनिङ गर्दैगर्दा उच्च र महत्वपूर्ण पद (राष्ट्रपति र प्रधानमन्त्री) उनीहरूलाई जिम्मा लगाउने सम्झौता गरेरै भए पनि संविधान जारी गराइछाडे । त्यो उपलब्धि समग्र जनताको विजय यात्राको सुरुवात थियो ।

संविधान निर्माणको कार्यभार बहन गरेर त्यसलाई कार्यान्वयन गराउने क्रममा पनि उनले आफ्नै नेतृत्वको सरकारबाट स्थानीय निकायको पहिलो चरणको निर्वाचन सम्पन्न गरे र सहज रुपमा प्रधानमन्त्रीको कुर्सी देउवालाई छाडेर संविधान कार्यान्वयनको लागि सहयोगी भूमिका निर्वाह गरिरहे ।

अन्य नेताले व्यक्तिगत लाभको लागि देश र जनताको विश्वासमाथि घात गरिरहँदा, प्रचण्डले पटक–पटक प्रधानमन्त्रीको कुर्सी अरुलाई जिम्मा लगाएर आफू सत्ता बाहिर बसेर देश र जनताको लागि व्यक्तिगत स्वार्थलाई पछाडि धकेलेर देश र जनताको लागि सोचिरहे ।

गणतन्त्र पश्चात् देशमा जति व्यक्तिहरु प्रधानमन्त्रीको कुर्सीमा आशिन भए प्रचण्डको सहयोगबिना कोही भएनन् । संसदीय अंकगणितमा आफ्नो दल ठूलो र सानो संङ्ख्यामा किन नहोस् सरकार निर्माणको चाबी हमेशा प्रचण्डसँगै रह्यो ।

गणतन्त्र स्थापनादेखि संविधान निर्माण र कार्यान्वयनको चरणमा प्रचण्डका अघि अनेकौं बाधा अड्चन आइपरे । राजनीतिलाई पेसा बनाएर देशलाई लुट्न पल्केकाहरूले परिवर्तन पक्षधर समग्र माओवादी पार्टी र प्रचण्डको टिमविरुद्ध अनेकौं जालझेल रचे ।

संघीयता, धर्मनिरपेक्षता, समावेशीता, समानुपातिक जस्ता प्रगतिशील एजेन्डा असफल बनाउन माओवादीप्रति अनेकौं प्रयास भए । तर, प्रचण्डपथको अघि तिनको केही लागेन । देशलाई जिताउने अभियानमा लागिरहँदा प्रचण्डका केही कमी कमजोरी भए होलान्, केही विषयमा काङ्ग्रेस एमालेसँग हारे होलान् ।

त्यसैको परिणामस्वरुप देश र जनताको जित भएको छ । प्रचण्डले आफूले नेतृत्वदायी भूमिका निर्वाह गरेर संविधान जारी गराएपछि आफैंले सरकारको नेतृत्व गरेर संविधान कार्यान्वयनको बाटो खोले ।

सरकार गठनकै समयमा दोस्रो चरणको निर्वाचन देउवाले गराउने मोटामोटी सहमति भएको खबर बाहिर आएको थियो त्यसै अनुरुप दोस्रो चरणको निर्वाचन देउवाले सम्पन्न गराए । निर्वाचन जसले गराए पनि त्यसमा प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेकै थिए । प्रचण्डले जस्तै शान्तिपूर्ण वातावरणमा देउवाले पनि निर्वाचन सम्पन्न गराए ।

यसपटक प्रचण्डको अघि दुईवटा चुनौतीको पहाड ठडिएको छ । पहिलो पार्टीलाई शक्तिशाली बनाउने र दोश्रो स्थानीय र संघको निर्वाचन समयमै सम्पन्न गराउने ।

संघ र प्रदेशको निर्वाचनमा एमाले माओवादीबीच चुनावी तालमेल गर्दै, संविधान कार्यान्वयनको लागि कम्युनिष्ट केन्द्रको सपना देख्दै एमाले–माओवादी केन्द्र एकताको लागि प्रचण्ड लागिरहे ।

कांग्रेसले पाँच वर्षको लागि प्रधानमन्त्रीको कुर्सी र चुनाव तालमेलमा पैतालिस प्रतिशत मतदान क्षेत्रमा माओवादीलाई सघाउनेगरी तालमेल गरौं भन्दैगर्दा कांग्रेससँगको गठबन्धन र प्रधानमन्त्रीको कुर्सी छाडेर एमालेसँग पार्टी एकता गरेर ओलीलाई प्रमको कुर्सीमा आशन समेत गराए । तर, तिनै ओलीबाट बारम्बार धोका र तिरस्कार पाइरहे । अन्ततः ओलीकै दम्भको कारण नेकपा दुई–टुक्रा भयो र एमाले पनी दुईटुक्रा भै छाड्यो ।

पटक–पटक संसद् विघटन गर्दै जनताको अपमान गर्ने, गुटमा लागेर संविधानमाथि धावा बोल्ने र परिवर्तन पक्षधरलाई भित्तामा पुर्याउने केपी ओलीका कारण अहिले पुनः प्रचण्ड र परिवर्तन पक्षधर समूहको अघि चुनौतीको पहाड उभिएको छ।

यसपटक प्रचण्डको अघि दुईवटा चुनौतीको पहाड ठडिएको छ । पहिलो पार्टीलाई शक्तिशाली बनाउने र दोश्रो स्थानीय र संघको निर्वाचन समयमै सम्पन्न गराउने ।

खड्गप्रसाद ओलीले दुई–दूई पटक संसद्को हत्या गर्दा प्रचण्डहरूले अग्रपङ्क्तिमा रहेर व्यवस्थाको पक्षमा नलडेको भए आज न यो व्यवस्था रहन्थ्यो न संविधान नै बच्ने स्थिति रहन्थ्यो ।

अहिले माओवादी आन्दोलन र पार्टी इतिहासकै गम्भीर अवस्थामा आइपुगेको छ । अब पनि पार्टी र संगठनलाई ध्यान नदिने हो भने, माओवादी पार्टीको अवसान कसैले रोकेर रोक्न सक्दैन । अबको निर्वाचनबाट नै माओवादीको वास्तविकक शक्ति र हैसियत जनताले बताइदिन्छन् ।

यहि व्यवस्थाको लागि भनेर टाउकोमा कफन बाँधेर दश वर्ष जंगल बसेका थिए प्रचण्ड । उनले पनि वर्तमान अवस्थाबाट निकास दिन सकेनन् भने अन्य नेताबाट त्यो आशा राख्नु बेकार हुनेछ।

पहिलो संविधानसभामा माओवादीलाई जनताले मत दिएर संसद्को सबैभन्दा ठूलो शक्ति बनाएकै हुन् । तर, माओवादीले उक्त जनमतलाई थाम्न सकेन, त्यसैले थिच्यो उसलाई । राजनीतिक परिपक्वताको कमीले गर्दा माओवादीले पहिलो संविधानसभामा असफलता बेहोर्नुपर्यो ।

त्यसबाट पाठ सिकेर दोस्रो संविधानसभा रहँदै गर्दा देशलाई दुरगामी फाइदा पुग्ने काम गरिरहेको छ । अझैसम्म माओवादीको ऐजेण्डा र उसकै वरीपरी वर्तमान राजनीति घुमिरहेको छ । अझ भन्नुपर्दा प्रचण्डको एउटा बोल्ड डिसिजनले देशलाई उज्यालोतर्फ डोहोर्याइरहेको छ ।

माओवादीको एजेन्डामा देश र जनताले पटक–पटक जितेका छन् । प्रत्येक जात, जाति, भाषा, धर्म, समुदायका मानिसले हरेक क्षेत्रमा आफ्नो अधिकार पाएका छन् । देश आर्थिक क्रान्तिको बाटोमा अघि बढ्दै छ ।

यहाँ आइपुग्दा माओवादीको एजेन्डामा देशले जितिसकेको छ । अब प्रचण्डले आफ्नो पार्टीलाई एकताबद्ध बनाएर जनविश्वासलाई मजबुत बनाउँदै एक नम्बर पार्टीका रूपमा माओवादीलाई स्थापित गर्ने निर्णय गर्नुपर्छ र आम कार्यकर्ता त्यहि अनुरुप अघि बढ्नुपर्छ ।

जसको लागि अहिलेको राजनीतिक घटनाक्रमलाई नियाल्दै परिवर्तन पक्षधर पार्टी र नेताहरूसँग बृहत ध्रुविकरणको बहस र अभियान थाल्नुपर्छ ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८, १९:१६:००