श्रम मन्त्रालयमा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने जनाएका छन् ।
उनले पीडितलाई न्याय दिलाउने प्रतिबद्धतासमेत जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्ष उद्घाटन गर्दै मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितामा मार्सल टोली गठन गरी दोषीलाई कारबाही गर्न सुरु गरिएको बताए ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी प्राथमिकताका साथ समाधान गरिने बताए ।
यसअघि पनि संचालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रूपमा व्यवस्थित गरी सुरु गरिएको हो ।
पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भीसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरु, दक्षिणपुर्वी एसियाली मुलुकहरु, युरोपेली तथा अमेरिकी मुलुकहरु र अफ्रिकी महादेशका देशहरुमा गैरकानुनी रुपमा पु¥याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो ।

अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ ।
आएका समस्या तथा गुनासोहरुलाई प्राथमिकिकरण गरी समाधान गरिनेछ भने सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइनेछ ।
कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमा कस्ता खालका समस्या र गुनासो आउँछन् त्यसले सरकारलाई नीति निर्माणमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए ।

वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्था उपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनवमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारवाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।
यससम्वन्धि समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोवाइल नम्वरः ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्वर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिनेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया