NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चैनपुरमा ‘बझाङ कोशेली घर’ सञ्चालन

सुनिल मण्डेल/बझाङ

बझाङको सदरमुकाम चैनपुरमा ‘बझाङ कोशेली घर’ सञ्चालनमा ल्याएको छ । ‘स्थानीय उत्पादनलाई माया र बढवा दिऔं, कृषि र किसानको गरिमा बढाऔं’ भन्ने नाराका साथ आज बझाङको सदरमुकाम चैनपुरमा बझाङ कोशेली घरको उद्धघाटन गरिएको छ ।

कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा बझाङ चिनाउने अभियानमार्फत बझाङ कोशेली घर सञ्चालनमा ल्याइएको हो ।

उक्त कोशेली घरबाट जिल्लाका उच्च हिमाली भेगमा पाइने यार्चागुम्बालगायतका जडीबुटी र स्थानीय स्तरमा उत्पादन भएका सिमी, मास, गुराँस, भाँगो, तिरकुलो, तथा सिस्नाको पिठो, कोदोको पिठो जस्ता विभिन्न अर्गानिक उत्पादन खरिद तथा बिक्री गरिनेछ ।

बजारमा आउने बाहिरका वस्तुले स्थानीय उत्पादन लोप हुने अवस्थामा पुगेको भन्दै कोशेली घर सञ्चालनमा ल्याएको सञ्चालक बसन्त खड्काले बताए ।

स्थानीय उत्पादनको बजारीकरण गर्नुका साथै आयमा बृद्धि हुने उद्देश्य रहेको उनको भनाइ छ । हिमाली फाँटमा फल्ने अन्नपात तथा जडीबुटी निर्यात गर्दै आएका खड्काले कोशेली घरमार्फत स्थानीय उत्पादनले बजार पाउने विश्वास व्यक्र गरे ।

सुरुवातीमा जडीबुटीको कारोबार गर्दै आएका खड्का अहिले कृषिमा निर्भर छन् । कृषि ज्ञान केन्द्र बझाङको आर्थिक सहयोगमा उक्त कोशेली घर सञ्चालनमा आएको हो । उक्त कोशेली घरको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्कबहादुर खड्काले गरेका छन् ।