अस्पतालकै कर्मचारी बनाउँछन् नक्कली पिसिआर रिपोर्ट, चार पक्राउ
काठमाडौं । उपचार हुने अस्पतालमै नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ । दुई अस्पतालका कर्मचारीलाई प्रहरीले रंगेहात पक्राउ गरेपछि उक्त धन्धाको खुलाशा भएको हो ।
महानगरीय प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउने दुई अस्पतालका दुई जना कर्मचारी र दुई जना बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर ठिमीको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रा.लि.मा काम गर्ने कर्मचारी तथा विचौलियाहरू हुन् । दुवै अस्पतालका पिसिआर ल्याव सञ्चालक भने फरार रहेका छन् ।
महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेहरूमा धनुषा विदेहका २५ वर्षीय रोशनकुमार छिट्टान, धनुषा छिरेश्वरका २५ वर्षीय नागेन्द्र यादव, काभ्रेपलान्चोक तेमालका २९ वर्षीय माधव मैनाली र सर्लाही बलराका २४ वर्षीय प्रशन्नकुमार झा छन् । झा नागरिक हस्पिटलका ल्याब प्रबन्धक हुन् ।
नागरिक कम्युनिटी अस्पतालको पिसिआर ल्याब सञ्चालक रौतहटका ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पताल प्रा.लि.का पिसिआर ल्याव सञ्चालक काठमाडौंका निर्मल गिरी भने फरार छन् ।
उनीहरूले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई बनाउने गरेका थिए । उनीहरूले स्वाबको नमुनासमेत नलिई नक्कली पिसिआर रिपोर्ट बनाइदिने गरेको भेटिएको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलको कर्मचारी परिचयपत्र भएका रोशनकुमार छिट्टानलाई त्यहि अस्पतालबाट जारी भएका ८ थान नक्कली पिसिआर रिपोर्टसहित एयरपोर्ट अगाडिबाट पक्राउ गरेको हो ।
त्यसैगरी कान्तिपुर अस्पताल प्रा.लि.को कर्मचारी परिचयपत्र भएका नागेन्द्रकुमार यादवलाई १७ थान नक्कली पिसिआर रिपोर्टसहित सोही अस्पताल अगाडि फेला पारिएको हो ।
पक्राउ परेका व्यक्तिहरू र नक्कली पिसिआर रिपोर्ट प्रहरी टोलीले पक्राउ गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरुसमेतको रोहबारमा चेकजाँच गरेको थियो ।
दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र दर्ता रजिष्टरसमेत नियन्त्रणमा लिइएको छ । दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया