NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते
राजनीति

‘कलंक’का सारथिहरू

०४६ यता नेताहरू कलंकका सारथि बन्दै आएका छन्

नेपाली कांग्रेसको महाधिवेशन उदघाटन सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘गाउँघरमा कुनै नेता आयो भने कुनचाहिँ चोर आएछ भनेर भन्छन्’ भन्दै मञ्चमा आसीन दर्जन बढी शीर्ष नेताहरूमाथि कटाक्ष गरे ।

यो देशका सबै नेता ‘चोर’ त पक्कै होइनन्, तर कांग्रेस सभाका सहभागीले ताली बजाएर लिङ्देनको अभिव्यक्तिमा समर्थन जनाएको देखियो । आखिर किन बज्यो त ताली ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्ने क्रममा ‘राप्रपा अध्यक्षले भनेझै हैन है’ भन्नुपर्‍यो । प्रचण्डले ‘के त्यसो हो त ?’ भनेर सोध्दा भीडबाट ‘त्यसै हो’ भन्ने चर्को आवाज आयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा राजा फर्काउने लाइन बोकेका परम्परागत शक्तिका नेताले हाकाहाकी नेताहरूलाई ‘चोर’ भन्ने हिम्मत गर्नु अनि मासले पनि समर्थनमा ताली बजाउने अवस्थाका पछाडि हाम्रो राजनीतिक नेतृत्व कम जिम्मेवार छैन ।

राजनीति जनकल्याण र सेवाको साटो कसैका लागि व्यापार त कसैका लागि सत्ता र भत्ताको मेलो भएको छ

करिब ७५ वर्ष लामो संघर्षको सिलसिलाबाट आजसम्म आइपुगेको वाम लोकतान्त्रिक आन्दोलनका अगुवाहरूबाट त्यस्तो के कमजोरी भयो, जसका कारण परम्परागत शक्तिहरू पनि हाकाहाकी चोर भन्न पछि परेनन्, यो आलेखमा यसबारे चर्चा गरिनेछ ।

०००

यसमा दुई मत छैन कि समग्र राजनीतिप्रति नै यतिबेला जनतामा तीव्र निराशा र वितृष्णा छ । राजनीति जनकल्याण र सेवाको साटो कसैका लागि व्यापार त कसैका लागि सत्ता र भत्ताको मेलो भएको छ । प्रायः हरेक दलमा यस्तै छ । पहिलो, दोस्रो र तेस्रो पुस्तासमेत राजनीतिबाट अनुचित लाभ लिने धन्दामा छ । उनीहरू नेताका यस्ता हर्कतको मुखदर्शक भएका छन् ।

अहिले जतिसुकै आदर्शका कुरा गरे पनि कांग्रेस नेतृत्वमा रहेका अधिकांश नेताहरू विगतका अनेक काण्डमा जिम्मेवार या रमिते थिए

राजनीतिक दल र तिनका नेता आदर्शवान् हुनुपर्ने हो । उनीहरू आफु चरित्रवान् भए मात्र तलका नेता कार्यकर्ताले पनि त्यही सिको गर्नसक्थे । तर, २०४६ सालको परिवर्तनयतादेखि हाम्रा नेताहरू निरन्तर कलंकका सारथि बन्दै आएका छन् ।

कांग्रेस पतनको पृष्ठभूमि

नेपाली कांग्रेसमा गणेशमान सिंह र किसुनजीजस्ता केही हदसम्म असल नेता पनि थिए । ०४८ मा अन्तरिम प्रधानमन्त्रीका रूपमा बालुवाटार छिर्दा र पदबाट हट्दा किसुनजीसँग सम्पत्तिका रूपमा छाता, सुराही र टिनको बाकस मात्र थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा राजा फर्काउने लाइन बोकेका परम्परागत शक्तिका नेताले हाकाहाकी नेताहरूलाई ‘चोर’ भन्ने हिम्मत गर्नु लाजमर्दो कुरा हो

२०४८ सालको आम निर्वाचनपछि जब गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए, बीपी कोइरालाका भाइ भएकाले जनताले उनीबाटजस्तै असल आचरण अपेक्षा गरेका थिए ।

विडम्बना गिरिजाले सत्तामा आएपछि बीपीकै मान्यताको खिल्ली उडाइदिए । बीपीले भनेका थिए, ‘प्रजातन्त्र आएपछि पनि शासनमा चतुर, बेइमान, टाठाबाठा र सुकिला–मुकिलाहरू हाबी हुनसक्छन्, त्यसविरुद्ध संघर्ष गर्नुपर्ने हुन्छ ।’

नभन्दै बीपीले भनेझैं कांग्रेसको गिरिजाकालमा पञ्चायतकालदेखिकै भ्रष्ट माफियाको हालिमुहाली सुरु भयो । पहिलो त, भ्रष्ट व्यापारी, कमिसनखोर र बिचौलिया दलालहरूसँग गिरिजा कोटरीको हिमचिम बढ्यो । एलसीकाण्ड घटाउने प्रकाश टिबडेवालदेखि ‘धमिजाकाण्ड’का दिनेश धमिजासँगको हिमचिमका कारण कांग्रेस सत्ता कलंकको सारथि हुन थाल्यो ।

लाउडा, धमिजा, चेज एयर विमान घोटाला भए । गिरिजा शासनले व्यापारीसँगको उठबसका क्रममा छिमेकी मित्र राष्ट्रहरूको सहयोगमा निर्माण भएका राष्ट्रिय उद्योग र कलकारखानासमेत बेचिदियो । व्यापारीसँग मोटो कमिसन खाएर बाँसवारी जुत्तादेखि भृकुटी कागज कारखानासम्म नव उदारवादका नाममा निजीकरण गरियो ।

कांग्रेसमा रातारात पूर्वपञ्चहरू प्रवेश गरे । तिनले पञ्चायतकालमा हालिमुहाली गर्दै आएका पुरानै भ्रष्ट माफियालाई शासन सत्तामा रजाइँ गर्ने परिवेश बनाए । यसको विरोध गर्दा गणेशमान र किसुनजी पार्टीबाटै गलहत्याइए ।

कांग्रेसको पतन त्यसबेलादेखि नै प्रारम्भ भएको हो । ०५० को दशकमा तात्कालीन प्रतिनिधिसभामा सत्ता समीकरणको खेल, सुर र सुन्दरीकाण्ड, पजेरोकाण्ड, सांसद खरिद–बिक्री आदिको मुख्य मतियार बनेर कांग्रेसले प्राप्त प्रजातन्त्रलाई नै बदनाम गराइदियो । अहिले जतिसुकै आदर्शका कुरा गरे पनि कांग्रेस नेतृत्वमा रहेका अधिकांश नेताहरू विगतका अनेक काण्डमा जिम्मेवार या रमिते थिए ।

कांग्रेसमा रातारात पूर्वपञ्चहरू प्रवेश गरे । तिनले पञ्चायतकालमा हालिमुहाली गर्दै आएका पुरानै भ्रष्ट माफियालाई शासन सत्तामा रजाइँ गर्ने परिवेश बनाए । यसको विरोध गर्दा गणेशमान र किसुनजी पार्टीबाटै गलहत्याइए

अहिले पनि कांग्रेसकै नेतृत्वमा सरकार छ । जगजाहेर छ, प्रधानमन्त्री शेरबहादुर देउवा र उनको कोटरीमा को–को हाबी छन् भनेर । उमेश श्रेष्ठदेखि विगतमा नामै नसुनिएका पात्र मन्त्री बनिरहँदा पार्टीका इमानदार र त्यागी नेता कार्यकर्ता पाखा परिरहेका छन् । प्रधानमन्त्री पत्नी आरजु देउवाको रजगज बेलाबेला चर्चामा नआएको पनि होइन ।

लामो प्रजातान्त्रिक इतिहास बोकेको कांग्रेसमा यसपालिको महाधिवेशनमा जसरी कसलाई जिताउने र हराउने भनेर आर्थिक माफियाको चलखेल देखियो, त्यसबाट कांग्रेसको नेतृत्व चयनसमेत परिशुद्ध हुन सकेन । इमान्दारहरू पाखा लागे, टाठाबाठा अनि चट्टेबट्टेहरू नै हाबी भए ।

कहिल्यै नसुध्रने एमाले

क्रान्तिका नारा दिएर राजनीतिमा स्थापित नेकपा (एमाले) त झन् कहिल्यै सुध्रिएन । ०४८ को चुनावदेखि नै एमालेको हिमचिम व्यापारिक घरानासँग हुँदै आएको हो ।

एमालेको नौमहिने शासनकाललाई जतिसुकै ‘मनमोहन राज्य’का रूपमा व्याख्या गरिए पनि त्यसबेला एमाले नेता र मन्त्रीहरूको व्यापारिक घराना र बिचौलिया दललाहरूसँगको उठ्बस बाक्लै हुने गथ्र्यो ।

प्रधानमन्त्री भएपछि ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ’ भनेका ओलीको हिमचिम सिम्रिक एयरका मालिक रामेश्वर थापादेखि मेडिकल माफिया दुर्गा प्रसाईंसँग भयो

तिनताक व्यापारी मोहन गोपाल खेतानले विदेशी मुद्रा विनिमय नियमविपरीत हङकङको इन्डोस्वेज बैंकमा जम्मा गरेको अमेरिकी डलरबाट १९ करोड ३९ लाख ७ हजार पैयाँ अपचलन गरेका थिए ।

यसका लागि खेतानलाई सोझै ३ वर्ष कैद र सम्पूर्ण रकम राष्ट्रियकरण गर्नुपर्ने हुन्थ्यो । तर, तात्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी र कानुनमन्त्री सुवास नेम्वाङको सिफारिसमा एमाले सरकारले मुद्दा फिर्ता गराइदियो ।

यसो गरिदिएबापत दुई करोड रूपैयाँ घुस लिइएको दाबी ‘एमालेभित्रका ‘दश बुँदे’ नेता घनश्याम भूसालले एमाले विभाजनताका लेखेको सानो पुस्तिका ‘एमाले गुटका ५१ अपराध’मा बकाइदा उल्लेख गरेका छन् ।

यो त एउटा नमुना मात्र हो । सत्ता समीकरणताका एमालेले सांसद खरिद–बिक्रीका लागि व्यापारीहरूसँग कुस्त चन्दा उठाएको थियो । एमालेको ‘बल्खु दरबार’मा त्यसबेला बोराका बोराका नोट हुन्थे । एमालेले अमेरिकादेखि भारतसँगसमेत आर्थिक सहयोग नलिएको हैन ।

अख्तियारले छापा मार्दा पानी ट्यांकीमा नोटको ब्रिफकेस लुकाउनेदेखि पाँच नम्बर प्रदेशको मुख्यमन्त्री हुँदा अनेक आर्थिक घोटालामा फसेका नेताहरू नै हावी भएका छन्

एमालेकै पूर्व सासद कमल कोइरालाले एक टेलिभिजन अन्तर्वार्तामा भनेकै छन्, ‘एमालेले अमेरिकाबाट पनि चुनाव खर्च उठाउँछ, व्यापारीहरूसँग त पत्र पठाएरै चन्दा उठाइन्छ ।’

भ्रष्टीकरणको रोगबाट एमाले अझै मुक्त हुन सकेन । अहिले त यो रोग झन् झाँगिएको छ । नाकाबन्दीताका चर्को राष्ट्रवादको नारा दिएर नेकपाको दुई
तिहाइ बहुमतको सरकारका प्रधानमन्त्री बनेका केपी शर्मा ओली पनि आर्थिक भ्रष्टाचारको कलंकका सारथि बने ।

प्रधानमन्त्री भएपछि ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ’ भनेका ओलीको हिमचिम सिम्रिक एयरका मालिक रामेश्वर थापादेखि मेडिकल माफिया दुर्गा प्रसाईंसँग सुरु भइहाल्यो । ओम्नीदेखि यतीसम्मका काण्डमा उनी मुछिए ।

ओली सरकारका मन्त्री भानुभक्त ढकाल ओम्नी घोटालामा मुछिए । अर्का मन्त्री गोकुल बासकोटा ७० करोड मोलमोलाइ काण्डमा मुछिए ।
तैपनि, ओलीले यी भ्रष्ट आचरणका मन्त्रीहरूलाई स्पष्टीकरण सोधेर कारबाहीको साटो काखी च्याप्दै आए । उनकै सरकारका पालामा यति समूहलाई पोस्ने काम भयो । देशको ढुकुटीमा ब्रह्मलुट भयो ।

जनता कोरोना कहर र अभावले पिल्सिएको बेला एमालेले महाधिवेशन प्रतिनिधिलाई पाँचतारे होटलबाट ल्याएर खाना खुवाइरहेको थियो । त्यत्रो तामझामको खर्च भ्रष्टाचारबाट कमाएको पैसाबाटै गरिएको हैन भनेर भन्न सकिने आधार छैन

एमालेको महाधिवेशनबाट निर्मित नेतृत्व हेरौं । अख्तियारले छापा मार्दा पानी ट्यांकीमा नोटको ब्रिफकेस लुकाउनेदेखि पाँच नम्बर प्रदेशको मुख्यमन्त्री हुँदा अनेक आर्थिक घोटालामा फसेका नेताहरू नै हावी भएका छन् । अँ, तिनै शैक्षिक माफिया दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्य भएका छन् । महेश बस्नेत, गोकुल बास्कोटा र परशुराम बस्नेत नै ओलीका प्यारा छन् ।

एमालेले महाधिवेशनमा गरेको खर्च र चर्को तामझामबाटै यो पार्टी दलाल पुँजीपतिहरूको चंगुलमा नराम्ररी फसिसकेको बुझन् सकिन्छ । जनता कोरोना कहर र अभावले पिल्सिएको बेला एमालेले महाधिवेशन प्रतिनिधिलाई पाँचतारे होटलबाट ल्याएर खाना खुवाइरहेको थियो । त्यत्रो तामझामको खर्च भ्रष्टाचारबाट कमाएको पैसाबाटै गरिएको हैन भनेर भन्न सकिने आधार छैन ।

माओवादीमा पनि उही रोग

शान्ति प्रक्रियामा आएपछि माओवादी कमरेडहरूमा पनि आर्थिक विचलन र भ्रष्टीकरण देखानपरेको होइन ।

पक्कै, माओवादीमा एकातिर जनयुद्धका घाइते, बेपत्ता र शहीद परिवारको बेदना छ भने अर्कोतिर केही टाठाबाठा र सुकिलामुकिलाहरूले जनयुद्धका् ओजलाई भजाएर आर्थिक आय गर्दै आएका छन् ।

माओवादी केन्द्रका नेताहरूको उठ्बस् पनि बिचौलिया दलाल र आर्थिक माफियासँग हुँदै आएको देखिन्छ ।

हुन त, माओवादी केन्द्रका नेता प्रचण्ड कुनै बेला सर्वहारा वर्गलाई मैलाधैला भनेर नहेप्न भन्दै सुकिलामुकिलाको निकै आलोचना गर्थे । एक पटक खुलामञ्चको आमसभामा ‘मैला धैलालाई हेप्ने सुकिलामुकिला’ भन्दै उनले दिएको अभिव्यक्तिको स्रभान्त वर्गबाट निकै आलोचना भएको थियो । कालान्तरमा प्रचण्ड आफू पनि हेर्दा सुकिलामुकिला नै देखिन थाले भने सुकिलामुकिलाकै उनी प्यारा बने । दस्तावेज लेख्न रिसोर्टहरूमा जाने, रमझम गर्ने आदि बानी उनमा विकास भयो । एकखालको बुर्जुवा संस्कार उनमा देखापर्न थाल्यो ।

माओवादीमा एकातिर जनयुद्धका घाइते, बेपत्ता र शहीद परिवारको बेदना छ भने अर्कोतिर केही टाठाबाठा र सुकिलामुकिलाहरूले जनयुद्धका् ओजलाई भजाएर आर्थिक आय गर्दै आएका छन्

अजय सुमार्गीदेखि शेष घलेसम्म, मीनबहादुर गुरुङदेखि अनेक धनाढ्यहरूसँग उनको हिमचिम बढदै गयो ।

प्रचण्डले खण्डन गर्दै आए पनि पहिलो पटक प्रधानमन्त्री हुनासाथ उनी ‘डेढ लाखको पलङ’काण्डमा मुछिए । त्यसयता कहिले लडाकुको राशन घोटाला त कहिले एनसेल कर मिनाहा अनि कहिले बूढिगण्डकी परियोजनामा कमिसन खाएको आरोप उनीमाथि लाग्दै आएको छ ।

यसो भनौं, जनयुद्धका महान् सुप्रिमो प्रचण्डको उसबेलाको स्वच्छ छविमा पनि दाग लागेको छ । लाजिम्पाटस्थित निवासमा बसेको आक्षेप खेप्न नसकेपछि उनी खुमलटारस्थित निवासमा सरे । तर त्यो घर पनि निर्माण ठेक्कामा बारम्बार अनियमितता र ढिलाइ गरिरहने विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको भन्ने खबर बाहिरिएपछि उनी पुनः आलोचित भए ।

माओबादीको हालै सम्पन्न महाधिवेशनमा उनले बडा हुँकार गर्दै अब पार्टीलाई वैचारिक र चारित्रिक रूपमा सुधार्ने र त्यसको सुरुवात आफैंबाट गर्ने वचन दिएका थिए । कहाँसम्म भने विवादास्पद ठेकेदारको घरबाट सरेर सामान्य जनतासरह जीवन बिताउने भन्नसमेत उनले भ्याए, टिभी अन्तर्वार्ताहरूमा ।

कालान्तरमा प्रचण्ड आफू पनि हेर्दा सुकिलामुकिला नै देखिन थाले भने सुकिलामुकिलाकै प्यारा बने

खै, ‘यी त सब भन्ने कुरा न हो…’ भन्ने रामकृष्ण ढकालको गीतझैं भयो । अहिलेसम्म प्रचण्ड पनि खुमलटार निवासमै छन् । कार्यकर्ताको सल्लाह र सुझावलाई उनले टेरपुच्छर लगाएका छैनन् ।

०००

क्रान्ति र बलिदानको जगमा कुनै बेला नायक बनेका हाम्रा नेताहरू भ्रष्ट, माफिया र दलाल पुँजीपतिसँगको संगतले करिब–करिब खलनायकमा परिणत हुँदैछन् । मुलुकमा चुनावको चर्चा छ । तर चुनावमा जनतासामु मुख देखाउन हाम्रा कुनै पनि दलका नेतासँग नैतिक आधार छैन ।

खै, तीस वर्ष भयो, लोकतान्त्रिक र वाम आन्दोनबाट उदाएका, जनतालाई महान् सपना देखाएका र केही हदसम्म कुनै बेला लोकप्रिय भएका नेताहरू सत्ता राजनीतिमा आएपछि बिग्रिए ।

यी कहिले सुध्रिने हुन् ? त्योचाहिँ भन्न सकिन्न । यी नसुध्रिएसम्म देशको हालत पनि कसरी सुध्रिएला र ?