NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सभामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर देखाउन पोखरेलको चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले समामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याए देखाउन चुनौती दिएका छन् ।
लामो समय संसद अवरोध गरेर एमालेले सभामुखलाई हटाउन प्रधानमन्त्री देउवासँग हारगुहार गरिरहेको आरोप लगाए ।

‘संसद अवरोध आफैं गर्ने अनि सभामुख हटाउन प्रधानमन्त्रीसँग हारगुहार गरिरहेका छन्’, नेपालवाचसँग उनले भने, ‘अविश्वासको प्रस्ताव ल्याएर हटाउन म विपक्षीलाई चुनौती दिन्छु । सबै प्रतिकूलताको सामना गर्न हामी तयार छौं ।’

त्यस्तै उनले एमसिसी राष्ट्रियहितविरुद्ध रहेकाले गठबन्धन बचाउने नाममा एमसिसी पास नहुने स्पष्ट पारे ।

‘गठबन्धन बनेदेखि नै केपी ओली यसलाई भत्काउन सक्रिय छन् । अहिले पनि हामी एमसिसी पास गर्दिन्छौं । गठबन्धन तोड्नोस्, सरकार तपाईं नै चलाउनुहोस् भनेर देउवालाई उचालिरहेका छन् । कुनै हालतमा पनि एमसिसी पास हुँदैन । राष्ट्रियताको विषयमा जुनसुकै मूल्य पनि चुकाउन हामी तयार छौं’, उनले भने ।

एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने व्यवस्था राखिनु नै असंवैधानिक भएको उनले टिप्पणी गरे । ‘यसअघिका सबै आर्थिक साहयता र अनुदानसम्बन्धी सम्झौताहरू संसदमा कहिल्यै प्रवेश भएनन्’, उनले भने, ‘एमसिसीलाई संसदमा प्रवेश गर्नुको प्रमुख कारण उनीहरूले अमेरिकन कानून अनुमोदन गराएर नेपालमा लागू गर्न खोजिएको छ ।’

उनले एमसिसी ऐन, २००३ को बुँदा नं. ६०७ र अन्तर्राष्ट्रिय कानून अन्तर्गतको सम्झौता बनाउन खोजिएको दावी गरेका छन् ।

‘अन्तर्राष्ट्रिय कानूनको आधारमा यस्ता सम्झौताहरू हकमा आन्तरिक कानून बाझिएको खण्डमा आन्तरिक कानूहरू निलम्बन हुन्छन् । यो हामीलाई मञ्जुर छैन । त्यस्तै हामीले अन्य मुलुकसँग गरिएका सम्झौताहरू एमसिसीसँग भएका सम्झौतासँग बाझियो भने एमसिसी लागू हुनेछ र अन्य सम्झौताहरू निलम्बन हुने भन्ने प्रावधान छ’, उनले जिकिर गरे ।

भविष्यमा अमेरिकन कानूनविरुद्ध भएमा हाम्रा कानूनहरू निलम्बन हुने व्यवस्था एमसिसीमा राखिएको दावी गर्दै पोखरेलले यस्ता कुरा माओवादीलाई मञ्जुर नहुने बताए । उनले एमसिसी तत्काल फिर्ता लैजानसमेत आग्रह गरेका छन् ।