NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रधानमन्त्रीलाई भेट्दै ओली, सत्ताबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार जाँदै

काठमाडौं । बालुवाटारबाट निष्केको झण्डै सात महिनापछि प्रमुख प्रतिपक्ष दलका नेता एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

एमसिसी पास र स्थानीय तह निर्वाचनको विषयमा सत्ता गठबन्धन दलहरूबीच मतभेद चुलिएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई बोलाएका हुन् ।

ओलीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अपरान्त ४ बजे छलफलका लागि प्रधानमन्त्रीले बोलाएका छन् । ‘दिउँसो ४ बजेका लागि भेटघाट गर्न प्रधानमन्त्रीले अध्यक्षलाई बोलाउनुभएको छ’, उनले भने, ‘एमसिसी, स्थानीय चुनाव तथा समसामायिक राजनीतिक विषयमा छलफल गर्न बोलाउनुभएको हो । ४ बजे प्रधानमन्त्री प्रधानमन्त्री निवास बालुवाटार जानुहुन्छ ।’

सरकारले एमसिसी प्रस्ताव सदनमा टेबुल गरे आफूले सहयोग गर्ने ओलीले बताउँदै आएका छन् । सत्ता–साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यथास्थितिमा एमसिसी पारित गर्न नहुने अडानमा रहेका छन् ।

प्रधानमन्त्री देउवा जसरी पनि एमसिसी पास गर्ने पक्षमा रहेका छन् । विवादको घेराबीच दुई शीर्ष नेताहरूको भेटवार्तालाई अर्थपूर्ण रूपले हेरिएको छ । शेरबहादुर देउवा संविधानको धारा ७६ को उपधारा ५ अनुसार सर्वोच्चको परमादेशमा असार २९ मा प्रधानमन्त्री नियुक्त भएपछि ओलीले ३० गते बालुवाटार छाडेका थिए ।