NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

भन्सार छली ल्याएको सुन, मोबाइलसहित ४ विमानस्थलबाट पक्राउ

काठमाडौं । अवैध रूपमा भन्सार छली ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित ४ जना पक्राउ परेका छन् । उनीहरूलाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनको पार्किङबाट प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार, पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ–८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापा शिवसताक्षी–९का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा–१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी छन् ।

भन्सार छलेर सामान ल्याउने तीन जना जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका थिए । पदमबहादुर, मान सिंह र समिर प्रत्येकको साथबाट ५८ ग्राम तौल बराबरको एक–एक वटा सुनको सिक्री, तीन–तीन वटा मोबाइल र एक–एक वटा ल्यापटप फेला परेको हो ।

प्रारम्भिक अनुसन्धानका अनुसार उक्त सामानहरू भन्सार छली ल्याउन गोकुलले लगाएको र उनी उक्त सामान लिन विमानस्थल आएको देखिएको छ ।
उनीहरूलाई बरामद सामानहरू सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष