NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बैंक आक्रामक हुनुको विकल्प छैन : पवन गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबिफीन)का अध्यक्ष पवन गोल्यानले अहिलेको अवस्थामा बैंक आक्रमक हुनुको विकल्प नभएको बताए । आइतबार सिबिफीनको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘बैंक आक्रामक हुनुको विकल्प छैन । अर्थात् ऋण नबढाएसम्म उपाय नै भएन । १० प्रतिशतदेखि १५ प्रतिशतसम्म पनि लाभांश दिन सकेन भने उक्त सेयरमा कसले लगानी गर्छ ?’, उनले भने ।

उनले थपे, ‘औसतमा हेर्ने हो भने रिटर्न चाहिँ जुन बैंकको शेयर मूल्य छ । सो अनुसार हेर्दा ३ प्रतिशत पनि छैन । नेपालमा अन्य व्यवसाय हेर्दा कुनै पनि ट्रेडिङ बिजनेशको ट्रेडिङको ब्यालेन्ससिट हेर्दा कहाँ र कति छ ? उक्त क्षेत्रको रिटर्न कति छ ? त्यसमा पनि अध्ययन गर्नुपर्ने देखिन्छ ।’

सीबिफीनले तरलता अभावका कारणहरू र समाधानका लागि सुझावहरूको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त रिपोर्ट हेर्दा एक–दुई वटा बैंकले गर्दाखेरी समग्र बैंकिङ क्षेत्र नै बदनाम भइरहेको उनको भनाइ छ ।

यसलाई स्वअनुशासन ल्याउनुपर्ने र आफैं पनि पनि अनुशासनमा बस्नुपर्ने उनको विचार थियो ।

‘जबसम्म हामी अनुशासनमा बस्दैनौं । तबसम्म बैंकिङ क्षेत्रमा अनुशासन हुँदैन । राष्ट्र बैंकले धेरै काम गर्न बाँकी छ । एक–दुई वटा बैंकले यदि कुनै गलत काम गर्छ भने उनीहरूलाई राष्ट्र बैंकले कारबाही गर्नुपर्छ । त्यसैले, सीबीफीनले प्रतिवेदनमा गलत कार्य गर्ने बैंकलाई कारबाही गर्नुपर्ने भन्न खाजेको छ ।’

उनले बैंकहरूको मात्र नभएर अन्य क्षेत्रको पनि त्रैमासिक ब्यालेन्ससिट हेर्नुपर्ने औंल्याए । बैंकहरू पारदर्शी भएकाले बैंकहरुको ब्यालेन्ससिट हेर्ने गरेको बताउँदै उनले अन्य क्षेत्रको ब्यालेन्ससिट नआउने हुँदा उक्त क्षेत्रमा पनि ध्यान दिनुपर्ने बताए ।