NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

१८ दलले माघ २६ गते एमसिसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताविरुद्ध संसद्बाहिर रहेका १८ राजनीतिक दलले माघ २६ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसद्बाहिर रहेका १८ राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरुको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा नेकपा (माले)का महासचिव सिपी मैनालीले एमसिसी खारेज गर्नका लागि माघ २६ गते विरोध कार्यक्रम राखिएको बताए । उनले देश बचाउन र देशको सार्वभौममसत्ताको लागि सबै जनता उठ्नुपर्नेमा जोड दिए ।

नेपाल सरकार र एमसिसीबीच पहिलो पटक हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने नलेखिएको उनले स्पष्ट पारे । ‘नेपाल सरकार र एमसिसीबीच भएको पहिलो पटक २०७४ साल भाद्रमा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने लेखिएको थिएन’ उनले भने, ‘त्यसलाई एक वर्षपछि संसद्बाट अनुमोदन गर्ने एमसिसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँका शीर्ष नेता, कर्मचारीले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडि बढेका छन् । विगतका नजिर नहेरी यस्ता सम्झौता-सन्धि नेपाल सरकारले पारित गरेको इतिहास छैन ।’

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपालले एमसिसी जबरजस्ती अनुदान भनेर नेपालीलाई सरकारले कोच्याउन खोजेको आरोप लगाए ।

कुनै पनि देशबीच हुने आर्थिक सम्झौतामा जनता प्रत्यक्ष मारमा पर्ने उनले बताए । नेपालमा एमसीसी सम्झौता लागु भए पनि असफल हुने उनले दाबी गरे ।

आन्दोलन कार्यक्रममा नेपालको लागि नेपाली, जनसमाजवादी पार्टी नेपाल, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी ‘भावर’, उन्नत लोकतान्त्रिक पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, नेकपा समाजवादी, राष्ट्रिय मुक्ति आन्दोलन मोर्चा, जनसमाजवादी समाज नेपाल, सार्थक अभियान नेपाललगायत राजनीतिक दल, संघसंगठन तथा अभियानहरूको समर्थन रहेको छ ।

साथै, माले, नेपालका लागि नेपाली पार्टी, नेकपा (संयु्््क्त), त्रिमूल नेपाल पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), नेकपा (मालेमा केन्द्र), उन्नत लोकतन्त्र पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, नपालवाद पार्टी, नेकपा (समाजवादी), माओवादी कम्युनिष्ट पार्टी, नेपाल, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति, एमसिसी विरोधी खारेजी अभियान, पुष्पलाल अध्ययन समाज, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनसमाजवादी मञ्च नेपाल, प्रगतिशील रुपान्तरण आन्दोलन, सार्थक अभियान नेपाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उक्त आन्दोलनमा एक्यवद्धता जनाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘संयुक्त जनआन्दोलनले आगामी माग २६ गते दिउँसो १२ः३० बजे तीनकुनेको पश्चिम कुनामा भेला भएर बानेश्वरतर्फ विरोध ¥यालीको रुपमा गई विरोधसभा गर्ने कार्यक्रम रहेको छ । जनआन्दोलने ठूलो संख्यामा विरोध–प्रदर्शन र जनसभामा सहभागी भई राष्ट्रघाती एमसिसी सम्झौतालाई अस्वीकार गर्न सरकारमाथि सशक्त दवाव दिन देशभक्त नेपालीहरू र विशेष गरी उपत्यकामा रहेका नागरिकहरुलाई अपिल गर्दछ’, १८ दलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।