NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

स्थानीय तहको निर्वाचन घोषणाको झापाका राजनीतिक दलहरूद्वारा स्वागत

दमक । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेकामा झापाका राजनीतिक दलहरुले स्वागतयोग्य भएको भन्दै निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न सघाउ पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने निर्णयको स्वागत गर्दै जिल्लाका राजनीतिक दलहरुले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन आफूहरुले सहयोग पुर्याउने जोड दिएका छन् ।

कांग्रेस झापाका सभापति देउमान थेवेले स्थानीय तहको निर्वाचनको मिति घोषणा स्वागतयोग्य भएको छ भन्दै अब त्यसका लागि दलहरुले निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने बताए । स्थानीय तहमा जनप्रतिनिधिविहीन हुन नदिन घोषित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गर्दै उहाँले निर्वाचनका लागि दलहरुले वातावरण निर्माण गर्न सघाउ पुर्याउनु पर्ने धारणा राखे ।

निर्वाचन निष्पक्ष बनाउन गठबन्धन सम्मिलित वर्तमान सरकारको दायित्व भएको र अब निर्वाचन कतै नहोला भन्ने शङ्का नरहेको उनको भनाइ थियो ।

नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीले सरकारले स्थानीय तहको निर्वाचन घोषणा स्वागतयोग्य भएकाले अब निर्वाचनमा जुट्नुपर्ने औँल्याए । एमालेले सरकारलाई निर्वाचनका लागि दबाब दिँदै आएको उल्लेख गर्दै उनले भने, “निर्वाचन भयरहित, निष्पक्ष बनाउन सरकारले समेत वातावरण निर्माण गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ ।”

जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष दीपेनवाला राईले स्थानीय तहमा जनप्रतिनिधिविहीन हुन नदिन सरकारले निर्वाचनको मिति घोषणा गरेकाले अब निर्वाचन भई छाड्ने बताए । निर्वाचनको विकल्प नभएको चर्चा गर्दै उनले अब स्थानीय तहको निर्वाचन निष्पक्ष, धाँधलीरहित बनाउन सबैले सहयोग पुर्याउनु पर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी)का झापा अध्यक्ष वेदराज रेग्मीले स्थानीय तहको निर्वाचन नहोला भन्ने शङ्का अब हटेको बताए ।

सरकारले निर्वाचनको मिति तय गरिसकेकाले अब त्यसका लागि दलहरुले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु पर्ने उनकोे भनाइ थियो ।

ताजा अपडेट

नेपालवाच विशेष